अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

विदेशमा रहेका कूटनीतिक नियोगहरू बलिया छैनन् – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ असार २० गते ६:१८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

बैठकमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो ,’विदेश जाने नेपालीहरूको संख्या बढ्दैछ। तर,हाम्रो परराष्ट्र मन्त्रालय,मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन। दरबन्दी धेरै पुरानो छ। यसलाई बदलेर संगठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ। विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ। सचिवस्तरमा प्राविधिक तयारी गर्नुस्। त्यसपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्नेछौं’।

बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवाल कुटनीतिमा अभिव्यक्त भएको बताउँदै नेपालले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सवलीकरण गर्नुपर्ने बताउनुभयो। छलफलमा परराष्ट्रमन्त्री श्रेष्ठ,अर्थमन्त्री वर्षमान पुन,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी,निमित्त मुख्यसचिव लिलादेवी गड्तौला,परराष्ट्र सचिव सेवा लम्साल,अर्थसचिव मधुकुमार मरासिनीलगायत प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू