अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

एकभन्दा धेरै सहकारीमा सञ्चालक हुनेले ३० दिनभित्र अन्य संस्था छोड्नु पर्ने

बिआरटीनेपाल २०८१ असार २० गते ५:४८ मा प्रकाशित

एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अन्य संस्थाबाट सञ्चालक पद छोड्नु पर्ने भएको छ। सहकारी विभागले बुधबार यस्तो निर्देशन दिएको हो। यसो नगर्ने सञ्चालकलाई कारबाही गर्ने समेत बताइएको छ। सहकारी बैंकको हकमा समेत यही नियम लागू हुने विभागले उल्लेख गरेको छ। सहकारी ऐन २०७४को दफा ४१ को उपदफा ५ मा कुनै एकै समयमा कुनै एकै व्यक्ति एक मात्रै सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ। यो व्यवस्थालाई पूर्ण रूपमा परिपालना गर्न विभागले निर्देशन दिएको हो।

विभागले गत वर्ष खराब ऋणीको सूचीमा नपरेका तर हाल परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीबाट पाकेको ५० प्रतिशत बराबर ब्याज असुल गरेर ३ महिनाको लागि कर्जाको पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिन सकिने गरेर निर्देशन दिएको छ। यस्ता ऋणीले यसअघि पुनर्तालिकीकरणको सुविधा नलिएको हुनुपर्नेछ। पुनर्तालिकीकरणको सुविधा दिँदा सहकारीहरूलाई ऋणीसँग शुल्क नलिन समेत भनेको छ।

पुनर्तालिकीकरणको कारण राइट ब्याक (नोक्सान फिर्ता) हुने अवस्था आएमा त्यसलाई छुट्टै सञ्चित मुनाफा खातामा देखाउनु पर्ने र यसबाट लाभांश बाड्न नपाइने व्यवस्था समेत विभागले गरिदिएको छ। पुनर्तालिकीकरण पछि ६ महिना किस्ता नियमित भएको कर्जा नोक्सान प्रावधानबाट झिक्न सक्ने र यस्तो रकम सञ्चित मुनाफा खातामा देखाउनुपर्ने व्यवस्था विभागले गरेको हो। सहकारीहरूले आगामी साउन १५ गतेसम्म उठाउन सक्ने ब्याजलाई यही आर्थिक वर्षको नाफामा जोड्न पाउने सुविधा समेत विभागले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू