अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 22:11

नियमित काम जारी राख्न मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

बिआरटीनेपाल २०८१ असार १९ गते ७:५६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिनुभएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिनुभयो । अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित कामहरू जारी राख्न भनेको उहाँले उल्लेख गर्नुभयो । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीसँग केही मन्त्रीहरूले भेटघाट गरेको बताउँदै जोशीले प्रधानमन्त्रीले कुनै दलले समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने बताएको उल्लेख गर्नुभयो ।

मन्त्री जोशीले भन्नुभयो,‘प्रधानमन्त्रीले हामी विश्वासको मतका लागि संसद् फेस गर्छौँ भन्नुभएको छ । त्यसबेलासम्मका लागि आफ्ना काम नछोड्नुस् भन्नुभएको छ । हामीले तत्काल राजीनामा गर्ने सोच बनाएका छैनौँ । उहाँहरूले (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने केही निर्णय गरिहाल्नु भएको छैन । यदि उहाँहरूले समर्थन फिर्ता लिनुभयो भने हामीले संसदमा विश्वासको मत लिन संसद्लाई भन्नुपर्ने हुन्छ भन्ने कुरा राख्नुभयो । भोलिका दिनमा कस्तो परिस्थिति आइपर्ला तर अहिले नियमित काम जारी राख्न निर्देशन दिनुभएको छ ।’

बाहिर मिडियामा आएका कुराका आधारमा नियमित कामकाज छोड्ने कुरा नभएको र नियमित काम जारी राख्न आग्रह गरेको मन्त्री जोशीले जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, स्वास्थ्य मन्त्री प्रदीप यादवलगायतका मन्त्रीहरू सहभागी थिए । प्रचण्डको भनाई उद्धृत गर्दै मन्त्री जोशीले भन्नुभयो ,‘घटनाक्रम कसरी अघि बढ्छ भन्न सकिँदैन, ठिकै छ हेर्दै जाउँ, किन यस्तो परिस्थिति भयो हामी नेकपा एमालेसँग पनि कुरा गछौँ, विभिन्न ढंगले एमालेसँग हाम्रो कुराकानी पनि भइरहेको छ, अरू राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको छ भन्नुभएको थियो ।’ उहाँले नियमित काम गर्न प्रधानमन्त्रीको निर्देशन भएको हुनाले आफूले मन्त्रालयका नियमित काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू