अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

रास्वपा पर्ख र हेरको रणनीतिमा, तत्काल सरकार नछाड्ने

बिआरटीनेपाल २०८१ असार १९ गते ७:३२ मा प्रकाशित

बदलिँदो राजनीतिक परिस्थितिबीच राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने र घटनाक्रमअनुसार अगाडि बढ्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित तीन मन्त्रीको जिम्मेवारीमा रहेको रास्वपाले एमाले र कांग्रेसबीचको नयाँ गठबन्धनको विकास भए पनि औपचारिक रुपमा केही नभएकाले पर्ख र हेरको रणनीति बनाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले सत्ता समीकरण त्यागे पनि विश्वासको मत लिने रणनीति बनाएपछि रास्वपाले पनि अहिलेको अवस्थामा दाहाललाई साथ दिने तयारी गरेको हो।्

सोमबार मध्यरातमा एमाले र कांग्रेससँगको सहमतिपछि शीतलनिवास पुगेरै एमालेले प्रचण्ड सरकारलाई दिएको सहमति फिर्ता गरेको निर्णय दर्ता गराएको थियो। यद्यपि प्रचण्डले सत्ता नछाडी विश्वासको मत लिने मनस्थिति बनाएपछि रास्वपा पनि सरकारमै रहिरहने निर्णयमा पुगेको हो। रास्वपाका सांसद् तथा पूर्वमन्त्री शिशिर खनालले रास्वपाले तत्काल सरकार नछाड्ने जानकारी देशसञ्चारसँग गराए। ‘ हामी अहिल्यै सरकारबाट राजीनामा दिँदैनौँ, सरकारलाई दिएको समर्थन पनि यथावत छ,’ उहाँले भन्नुभयो ।

रास्वपाका सहभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दाबी गर्नुभएको थियो । मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको दाबी गर्नुभएको छ । उहाँले भ्रष्टाचारका फाइल खोले पनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाउनुभयो।

लामिछानेले भन्नुभयो, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि। जुन ढंगले सरकार अघि बढेको छ। तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोलनुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो। एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेकोरु त्यति पनि बुझ्न सक्दैन त।’

यसअघि रास्वपाले नयाँ सत्ता समीकरणअनुसार सरकार बने प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। एमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएका समर्थन फिर्ता लिई एमाले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा कांग्रेससँग मिलेर सरकार बनाउने तर्फ अगाडि बढेपछि रास्वपा सचिवालयले ‍पार्टी अध्यक्ष रवि लामिछानेलगायत आफ्ना सबै मन्त्रीहरूलाई राजीनामा दिन पनि निर्देश गरेको थियो। यद्यपि तत्कालै यो कार्यान्वयन नहुने भएको छ। आजको बैठकले बुधबारका लागि केन्द्रीय समितिको बैठकसमेत आह्वान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू