अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 01:19

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २० र २१ गते हुने

बिआरटीनेपाल २०८१ असार १९ गते ६:५८ मा प्रकाशित

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाइ हुने भएको छ ।मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो ।संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाइ गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो ।

सभापति जबराले भन्नुभयो, ‘निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाइ गर्ने सचिवालयको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’ गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।

निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसक्नुभएका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय