अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

एसईईको सबै नन ग्रेडेड विद्यार्थीलाई पूरक परीक्षा लिन निर्देशिका संशोधन गरिँदै

बिआरटीनेपाल २०८१ असार १८ गते ८:२१ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन २३ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तयारी थालेको छ । साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी बोर्डले तयारी अघि बढाएको हो । वर्ष २०८० को एसईईमा नन ग्रेडेड भएका सबै विद्यार्थी सो परीक्षामा सहभागी हुन पाउनेछन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नन ग्रेडेड भएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै छ । “परीक्षाअघि पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गर्छ, जसले सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउन बाटो खुल्छ,” शर्माले भन्नुभयो ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ मा सबै विषयमा आन्तरिकतर्फ कम्तीमा ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त नगर्ने विद्यार्थीलाई नन ग्रेडेड गरिने व्यवस्था छ । दुई विषयमा नन ग्रेडेड विद्यार्थीले तीन पटकसम्म ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । नयाँ निर्देशिकाअनुसार यो वर्ष पहिलोपटक नतिजा प्रकाशन गरिएको हो । तर, वर्ष २०८० को एसईईमा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले एकपटकलाई सबै नन ग्रेडेड विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ मा परीक्षा बोर्डले एसईईसम्बन्धी विषयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिलाई आवश्यकताअनुसार निर्देशन दिनसक्ने व्यवस्था छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल एसईईको पूरक परीक्षाबारे सम्पूर्ण अधिकार परीक्षा बोर्डमा निहित रहेको बताउनुहुन्छ । सबै विषयमा नन ग्रेडेड भएका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउन शिक्षामन्त्रीले निर्देशनको माध्यमबाट सहजीकरण गरेको उहाँको भनाइ छ ।

मन्त्रालयले एकपटकका निम्ति मात्रै यस्तो निर्णय गरिएको जनाएको छ । २०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना नन ग्रेडेड भएका छन् । तीमध्ये एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् ।

एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका छन् । यसअघि बोर्डले दुई विषयसम्म नन ग्रेडेड भएका एक लाख १५ हजार ८३४ विद्यार्थीका निम्ति साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा मिति तय गरेको थियो । तर, थप एक लाख २६ हजार २९७ विद्यार्थीको समेत परीक्षा लिनुपर्ने भएपछि परीक्षा मिति केही धकेलेर साउन २३ गतेदेखि निर्धारण गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू