अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

मन्त्रिपरिषद् बैठक: एमालेसँगको गठबन्धन लामो समयसम्म जाने प्रधानमन्त्रीको ब्रिफिङ

बिआरटीनेपाल २०८१ असार १८ गते ८:१४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सहितको वर्तमान गठबन्धन लामो समय जाने बताउनुभएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा उहाँले सरकार परिवर्तनबारे चलेका हल्ला निराधार रहेको बताउनुभयो । ‘प्रधानमन्त्रीले केही ब्रिफिङ गर्नुभयो हामीलाई। एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीका बीचमा हिजो पनि, आज पनि छलफल भयो। जति पनि असमझदारी भए, बढे भनेर बाहिर अफवाह चलेको छ। ती सबै असत्य हुन् । हाम्रो छलफल सकारात्मक भएको छ। यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भन्नुभएको छ। हामीलाई त्यस्तो खालको अनुभूति छैन,’ सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भन्नुभयो ।

सञ्चारमन्त्री शर्माले सरकार परिवर्तनबारे मिडिया ट्रायल भइराखेको पनि बताउनुभयो । ‘यसलाई मिडिया ट्रायल भनौं कि के भनौं। गलत समाचार बाहिर आइरहेको छ। भर्खर हेर्नुभयो भने केपी ओलीले साँझ ६ बजे आफ्ना मन्त्रीहरूलाई बोलाएको भन्ने छ। पदाधिकारी बैठक बोलाएको भन्ने छ। तर मन्त्रीहरूलाई थाहा छैन। मन्त्रीहरू क्याबिनेटमा हुनुहुन्छ। उहाँ कार्यकर्ता भेटघाट गरिराख्नुभएको छ। आएका सबै समाचार सत्य नहुँदा रहेछन्,’ शर्माले भन्नुभयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकमा सहभागी अर्का एक मन्त्रीले पनि प्रधानमन्त्रीले सरकार परिवर्तनको हल्ला अफवाह भएको बताएको जनाएका छन् । केही कुरा परिवर्तन हुन लागेको होइन। आफ्नो स्पिरिटअनुसार काम गर्नुस् भन्नुभएको छ,’ ती मन्त्रीले भनेका छन् । यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा मन्त्रीहरूलाई सामूहिक रूपमा नबोलाइएको प्रष्टीकरण दिनुभएको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार अध्यक्ष ओलीले मन्त्रिपरिषद् बैठकअघि पनि प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर आफ्ना मन्त्रीलाई बालकोट नबोलाएको बताउनुभएको थियो। फोनमा ओली र प्रचण्डको संवाद भएपछि मन्त्रीपरिषद् बैठक सुरू भएको थियो।

‘एमाले अध्यक्षले प्रधानमन्त्रीलाई फोन गरेर मन्त्रीहरूलाई सामूहिकरूपमा आफ्नो निवास बालकोट नबोलाएको भन्नुभएको थियो। सरकार परिवर्तनबारे बाहिर चलेका हल्ला निराधार हुन्,’ ती मन्त्रीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू