अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

बरु प्रहरी प्रयाेग गर्छु तर शिक्षा क्षेत्रमा गुण्डागर्दी सहिन्न : मन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८१ असार १८ गते ८:०० मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताउनुभएको छ ।सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताउनुभएको हो । उहाँले प्रहरी परिचालन गरेर भए पनि विश्वविद्यालयमा राजनीतिक दलका भातृ सङ्गठनको हस्तक्षेपलाई अन्त्य गर्ने जिकिर गर्नुभयाे । उहाँले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा प्रहरी राखेर अन्तर्वार्ता गर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टीयूमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइँदैन भनेर अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरी राखेर अन्तर्वार्ता गर्नुपर्ने अवस्था आयाे । जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु तर गुण्डागर्दी सहिन्न । दलीय राजनीतिकरण हटाएरै छोड्ने हो ।’

मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) काे नतिजामा शिक्षा मन्त्रालय मात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताउनुभयो । उहाँले एसईईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको उल्लेख गर्नुभयाे । शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्‍याउनुपर्ने मन्त्री श्रेष्ठकाे भनाइ छ । मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरूको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू