अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

बिआरटीनेपाल २०८१ असार १८ गते ७:४३ मा प्रकाशित

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ । फरार रहेका २६ जनासमेत गरी ४६ जनालाई प्रतिवादी बनाएर सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।सीआईबीले प्रतिवादीहरूबाट दुई खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ । पक्राउ परेकाहरूलाई सङ्गठित अपराध, सुनको अवैध तस्करीलगायतमा सजाय माग गरिएको छ ।

‘ब्रेक शु’ मार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले पुनः फाइल खोलेको थियो ।यसैबीच सीआईबीले पाँच वटा नक्कली कम्पनीमार्फत ‘ब्रेक शु’ र विद्युतीय सामानमा लुकाएर झन्डै ३२ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

२०८० सालको साउन २ गते स्कुटरको ‘ब्रेक शु’ मा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट बरामद भएपछि अनुसन्धान थालेको सीआईबीले त्यही समूहले ‘ब्रेक शु’ मा लुकाएर ३ सय ६२ किलो ७ सय ७८ ग्राम र अरू विद्युतीय सामानमा लुकाएर २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम सुन तस्करी गरेको खुलेको हो । यो सुनको अहिलेको मूल्य ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँभन्दा धेरै पर्छ । यसअघि प्रहरीले २ सय ६२ किलो ७ सय ७८ ग्राम सुन तस्करी भएको निष्कर्षसहित असोज ३१ गते २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू