जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले झन्डै २१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताहरूले समाजवाद ल्याउन नसक्ने बताउनुभएको छ ।आज काठमाण्डाैमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले महिनाको १५ दिन पाँचतारे होटलमा खाना खान जाने नेताहरूले म समाजवादी हुँ भन्न नसुहाउने बताउनुभयो । उहाँले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरू समाजवादी हुन नसक्ने टिप्पणी गर्नुभयाे । अध्यक्ष राउतले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरू समाजवादी हुन नसक्ने उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘हामी समाजवादका कुरा गर्दछौँ । झन्डै २१ प्रतिशत जनता गरिबीकाे रेखामुनि बाँचिरहेकाे देशमा म महिनाको १५ दिन जति पाँच तारे होटलमा गएर खाना खान्छु भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने ? कर्णालीमा मान्छे बिरामी हुँदा खाने कुरा हुँदैन, नुन पाइरहेका छैनन्, सिटामोल पाइरहेका छैनन् भने म महँगो अस्पतालमा उपचार गराउँछु, विदेशमा गएर उपचार गराउन चाहन्छु भने म समाजवादी हो कि होइन ? म एकातिर रोजगारी दिने कुरा गर्दछु, अर्कोतिर कसरी युवालाई विदेश पठाउने भनेर लाखौँको सङ्ख्यामा सम्झौता गर्दछु भने म समाजवादी हो कि होइन ?’ अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरूले पालना गर्न नसकेको बताउनुभयो ।