नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको मन्त्रीमा पुनः नियुक्त हुनु भएको छ । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद पुगेका सांसद देवकोटा आइतबार पुनः मन्त्री बन्नु भएको हो । देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गर्नु भएको हो । देवकोटाले सपथ पनि लिइसकेका छन् ।
गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त हुनु भएको थियो । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु एक दिनअघि जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेर सभालाई जानकारी गराउनु भएको थियो । यसैबीच मन्त्री देवकोटाले आजै पद तथा गोपनियताको शपथ लिनुभएको छ ।