उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताउनुभएको छ । आइतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले मुलुक अफ्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकुलतामा नहुने कुरा स्पष्ट भएको बताउनुभयो ।
गृहमन्त्री लामिछानेले मुलुक अफ्ठ्यारो जनता, किसानले नभइ नेतृत्वले नै पारेको जिकीर गर्नुभयो । उहाँले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताउनुभयो । उहाँले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताउनुभयो ।
गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ । त्यतिबेला मुलुक जहिले पनि अफ्ठ्यारोमा पर्छ । नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन । अलग अलग भयो । लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो । चिन्ता गर्नुपर्दैन । लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन् । नेताहरुले चिन्ता गर्नुपर्दैन । नेताहरुले साँच्चिकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले विभिन्न सम्झौताहरुमा हस्ताक्षर गरेको सुनेका छौँ । के आजसम्म नेतृत्वले ठूला विश्वविद्यालय बनेनन् कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनाएका छौँ ।’गृहमन्त्री लामिछानेले नेताहरुले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताउनुभयो ।