अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

मनसुन शुरु भएपछि विपद्का घटनामा २८ जनाको ज्यान गयो, ३३ वटा जिल्ला प्रभावित

बिआरटीनेपाल २०८१ असार १४ गते ६:१९ मा प्रकाशित

देशमा मनसुन भित्रिएयता विपद्का घटनाबाट २८ जनाको ज्यान गएको छ । गएकाे जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएदेखि हिजो बुधवारसम्म भएका मनसुनी विपद्बाट ३३ वटा जिल्ला प्रभावित भएका र २८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको ज्यान गएको हो ।जेठ २८ गतेपछि एक सय ४७ वटा विपद्का घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोमा परेर १२ जना घाइते भएका छन् । पहिरोकै कारण २५ वटा घरमा पूर्ण क्षति भएको छ भने १० वटा घरमा आंशिक क्षति पुगेको छ । यस्तै बाढीमा परेर एक जना घाइते भएका छन् । दुई हप्तामा चट्याङका ६८ वटा घटना भएको तथ्याङ्क छ जसमा १३ जनाको ज्यान गएकाे छ । चट्याङबाट २४ जना घाइते भएका छन् । यी घटनाबाट १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

विपद्का घटनाबाट ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायतका जिल्ला बढी प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार पछिल्लो तीन दिनमा मात्रै विपद्जन्य घटनामा १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये चट्याङबाट ९ जनाको र बाढी पहिरोमा परेर ९ जनाको मृत्यु भएको भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू