अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

केआरएसएको ब्लड ड्राइभ सम्पन्न

बिआरटिनेपाल संवाददाता, न्यूयोर्क २०८१ असार १३ गते २०:५५ मा प्रकाशित

हरेक वर्ष स्थापना दिवसको अबसर पारेर रक्तदान गर्दै आएको किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले यो वर्ष जुन २३ मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उडसाइडस्थित सत्यनारायण मन्दिरमा भएको थियो। न्यू योर्क ब्लड सेन्टरसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका थिए। सेन्टरका अनुसार उसले आयोजना गर्ने एउटा रक्तदान कार्यक्रममा औसत ४० देखि ४५ मानिस सहभागी हुन्छन्।

केआरएसएका केन्द्रिय अध्यक्ष खगेन्द्र राईले रक्तदान कार्यक्रम सफलतापूर्बक सम्पन्न भएको बताए। उनका अनुसार कम्तिमा आधा दर्जन सहभागीले हाइ ब्लड प्रेसर, तौल आदि जस्ता कारण रक्तदान कार्यक्रम गर्न पाएनन्। सहभागीमध्ये ५६ जनाले होल ब्लड डोनेशन गरेका थिए भने तीन जनाले प्लेटलेट डोनेसन गरेका थिए।

रक्तदान कार्यक्रममा केआरएसएका नयाँ पुस्ताका युवा भोलिन्टियर्स परिचालित थिए। सन् २००४ मा नेब्रस्का राज्यमा विधिवत रुपमा दर्ता भएको केआरएसको यो वर्ष जुन २३ मा २० वर्ष पुरा हुँदैछ। केआरएसएलाई न्यू योर्क राज्यले पनि सोही स्थापना मितिलाई कायम गरि न्यू योर्कमा दर्ता गरिदिएको छ।

रक्तदानमा सहभागी हुन केआरएसएले आफ्नो आधिकारिक फेसबुकमार्फत आह्वान गरेको थियो। रक्तदानका लागि आफ्नो उपयुक्त समय बुक गर्न क्युआर कोड उपलब्ध गराएर ब्यबस्थित गरिएको थियो। रक्तदानमा सहभागी सबैलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो।

केआरएसएले कोरोना भाइरसको महामारीका बेला भएको न्यू योर्क ब्लड इमर्जेन्सीका समयमा समेत रक्तदान कार्यक्रम गरेर रगत अभाव कम गर्न सहयोग पुर्‍याएको थियो । ‘यस पटकको रक्तदानका लागि आवश्यक तयारी भइरहेको छ,’ केआरएसए केन्द्रिय अध्यक्ष खगेन्द्र राईले भने।