अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

मनसुनी प्रणाली सक्रिय भएसंगै पहिरो र चट्याङमा परेर ११ जनाको ज्यान गयाे

बिआरटीनेपाल २०८१ असार १३ गते ६:५२ मा प्रकाशित

मनसुनी प्रणाली सक्रिय भएसँगै भएको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानजस्ता विपद्का घटनाहरू बढेका छन् ।गृह मन्त्रालयका अनुसार विशेषगरी कोशी, मधेश र गण्डकी प्रदेशका विभिन्न ठाउँहरूमा पहिरो र डुबानका घटनाहरू देखिएका छन् । अरू प्रदेशका विभिन्न क्षेत्रमा पनि ठूलो पानी परिरहेको छ ।

गृह मन्त्रालयका अनुसार गए रातिदेखि बाढी र पहिरोमा परि सात जना र चट्याङ लागेर चार जनाको ज्यान गएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गए राति पहिरो खस्दा पुरिएका एकै परिवारका चार जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर रुद्रमान गुरुङ र उहाँकी बुहारी पञ्चकुमारी गुरुङसहित आठ र चार वर्षका दुई जना बालिकाको ज्यान गएको हो । यस्तै कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा प्रकाश रानाभाटको घर पहिरोले पुरिँदा घरमा सुतिरहेकी १३ वर्षकी आयुष्मा रानाभाटको ज्यान गएको छ । कास्कीकै पोखरा महानगरपालिका–२७ आरुपाटाका हरि सुनारको घरमा पहिरो खस्दा सुनारका छोरा तीन वर्षका अनमोल सुनारको ज्यान गएको छ ।

यस्तै ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–५ थुम्कीका बाबुराम खत्रीको घर र गोठ पहिरोले पुरिँदा उहाँकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको ज्यान गएको छ । यसैगरी चितवनको माडीमा मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रणबहादुर कामी बेपत्ता हुनुभएको छ ।

यसैबीच कैलालीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । जोशीपुर गाउँपालिका–३ भितरियाका जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का शालिम चौधरीको ज्यान गएको हो । चट्याङ लागेर कैलालीमा अरू छ जना घाइते भएका छन् । यस्तै चट्याङ लागेर कपिलवस्तुमा पनि दुई जनाको ज्यान गएको छ । यशोधरा गाउँपालिका–८ भैसहियाका महेश कलवार र बुद्धभूमि नगरपालिका–१० धनकौलीका राजु ठाकुरको चट्याङ लागेर ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू