आइसीसी टी- २० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर सन्दीप लामिछाने आज ९शनिबार० स्वदेश फर्किनुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको तीन दिनपछि सन्दीप नेपाल आउनुभएको हो । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर क्रिकेट टोलीका सदस्यहरू दुई समूहमा बाँडिएर नेपाल फर्किएको थियो।
सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थिए भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको थियो। उनीहरू अमेरिकाबाट सिधै नेपाल आएका थिए। तर अमेरिकाले भिसा नदिएकै कारण सन्दीप विश्वकप अन्तर्गत वेस्ट इन्डिजमा भएका खेलमा मात्र सहभागी हुन पाउनुभएको थियो। उहाँ एअर अरेबियाको फ्लाइटबाट आज दिउँसो ३: ४० बजे काठमाडौं आइपुग्नुभएको हो ।
१० वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो। चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपबाट यात्रा टुंग्याएको थियो।
सन्दीपले बङ्गलादेशसँगको खेलमा २ विकेट लिएर आफ्नो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय विकेट पूरा गर्नुभएको थियो। यससँगै उहाँ टी(२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो सय विकेट बनाउने दोस्रो नम्बरका खेलाडी बन्नुभयो ।