नेपाल डेरी एसोसिएसनले दुग्ध किसानको भुक्तानी गर्न प्रयास गरिरहेको जनाएको छ । एसोसिएसनले आज विज्ञप्ति निकालेर चैत मसान्तसम्मको भुक्तानी लगभग सबैले गरिसकेका र दुई/चार जना बाँकी सदस्यको पनि चाँडै भुक्तानी हुने प्रतिबद्धता आएको जनाएको छ । किसानको चार अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिन बाँकी रहेको कुराले नै डेरी उद्योग सङ्गटमा रहेको प्रष्ट हुने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले कोही कसैको भुक्तानी गर्न बाँकी हुँदा किसानको मर्म र भावना बुझी यथाशक्य चाँडो भुक्तानी गर्न निर्देशन गरिसकेको पनि जानकारी दिएको छ । दुध बेचेको पैसा नपाएर किसान सडकमा आउँदा परेको अफ्ट्यारोमा दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्तो अवस्था आउन नदिन एसोसिएसनले सबै प्रकारका प्रयास जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।
धुलो दुध र बटरको स्टकलाई धितो मानी सरल कर्जा उपलब्ध गराउने र दुग्ध पदार्थ निर्यातका लागि अनुदान उपलब्ध गराएमा किसानको सम्पूर्ण भुक्तानी चाँडै गर्न सकिने एसोसिएसनले जनाएको छ । भूकम्प, नाकाबन्दी, कोभिड जस्ता विपत्ति आउँदा पनि उद्योग र दुग्ध किसानको सम्बन्धमा कहिल्यै पनि यस्तो असहज परिस्थिति नआएको एसोसिएसनले स्मरण गराएको छ ।
किसानले उत्पादन गरेको दुध र उपभोगको अन्तर बढ्दै जाँदा उद्योगसँग रहेको धुलो दुध र बटरको मौजदात बढ्दै जाँदा अहिलेको दुःखद् परिस्थिति आएको डेरी एसोसिएसनले दाबी गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमा नेपाल डेरी एसोसिएसनले दूग्ध पदार्थमा ५० प्रतिशत भ्याट रिबेट, प्याकेजिङ र स्पेयर पार्ट्समा एक प्रतिशत भन्सार दर, कृषि कर्जाको निरन्तरता, बिजुलीमा ५० प्रतिशत छुट लगायतका कुराको माग राखेकोमा केही पनि सम्बोधन नभएकाले उत्पादन लागत घटाउन असक्षम रहेको डेरीले जनाएका छन् ।