प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सक्ने बनाउन सकिने जिकिर गर्नुभएको हो ।
यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी नेपाली कांग्रेसलाई बनाउन सक्ने महामन्त्री थापाको भनाई थियो । उहाँले त्यसका लागि पार्टी भित्रको एकताको आवश्यक्तामा जोड दिनुभयो । बिपी, गणेशमान, किसुनजीको पार्टी नेपाली कांग्रेस भएकाले सो पार्टीलाई आगामी निर्वाचनमा बलियो शक्ति बनाउन सम्भव रहेको पनि महामन्त्री थापाले बताउनुभयो । महामन्त्री थापाले कांग्रेसले सरकारमा नरहेर पनि जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताउनुभयो ।