अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

आईडीए–२१ बैठक सम्पन्न

बिआरटीनेपाल २०८१ असार ८ गते ८:४० मा प्रकाशित

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए–२१० को तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको शुक्रबार आयोजित एक कार्यक्रममा समापन गरियो । समापनमा अर्थमन्त्री वर्षमान पुन सहभागी हुनुभएको थियो । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गर्नुभएको थियो । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो सम्मेलन हो ।

बैठकले न्यून आय भएका मुलुकका लागि आगामी वर्षहरूमा गर्ने सहयोगसम्बन्धी रणनीति तय गरेको बैंकले जनाएको छ । बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशक सहभागी थिए । साथै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा लागि आएका थिए । उदघाटनसत्रपछि तीन दिनसम्म बन्दसत्र चलेको थियो । बन्दसत्रमा आगामी ३ वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सोको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच गहन छलफल भएको बताइएको छ ।

आईडीए–२ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । विश्व बैंकको दक्षिण एसिया क्षेत्रमै यो स्तरको कार्यक्रम भएको पहिलो हो । बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । विश्व बैंकले सन् १९६० मा आईडीएको स्थापना गरेको थियो ।

आईडीएले विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यसका साथै यसले विकासका पछि परेका मुलुकहरूका लागि सहुलियतपूर्ण ऋण र अनुदान तथा बहुपक्षीय सहायता प्रदान गर्दछ । आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । अर्थ मन्त्रालयले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत गराउन तथा उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण भएको जनाएको छ ।

बैठकपछि विश्व बैंकमा उच्च अधिकारीहरूले काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निर्माण, ऊर्जा, जलवायुलगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ आयोजनाको स्थलगत भ्रमण गर्ने भएका छन् । बैठकको आयोजनाबाट नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताउनुभयो । विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई दिइएको समेत उहाँले बताउनुभयो ।

नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिलेको, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढेको, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढेको तथा पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुगेको विश्वास लिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू