यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी दिनुभयो ।उहाँका अनुसार यस वर्ष भक्तपुरको चाँगुनारायण, सुनसरीको धरान, बाराको करैयामाई, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको चौतारा, जुम्लाकाे सदरमुकाम, बैतडीको पाटन र कैलालीको टीकापुरमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो । यस्तै काठमाण्डाैमा यस वर्ष २५ वर्षयताकै गर्मी भएको छ । यस वर्ष देशका धेरैजसो ठाउँमा उच्च तापक्रम धेरै दिन रहँदा अत्यधिक गर्मी महसुस भएको छ ।
नेपालमा मात्र नभई संसारभर पछिल्लो समय गर्मी बढिरहेको छ । मौसमविद्ले गर्मी बढ्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको बताएका छन् । युरोप र अमेरिकामा केही वर्षदेखि अत्यधिक गर्मी बढेको छ । यो वर्ष उत्तरी भारतमा एक हप्ताभन्दा लामो समय तातो हावाको लहर चल्यो । यस वर्ष साउदी अरबमा उच्च गर्मीका कारण झन्डै एक हजार हजयात्रीको ज्यान गएको छ । विश्वव्यापी रूपमा उच्च गर्मी भोगिरहँदा यस वर्ष नेपालमा पनि प्रि–मनसुनको समयमा अत्यधिक गर्मी भएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालमा यस वर्ष प्रि–मनसुनमा पर्याप्त वर्षा नहुनुले पनि गर्मी बढेको मौसमविद् हुमागाँईले बताउनुभयो ।