कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई संघीय संसदबाट अगाडि बढाउने तयारी गरिरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री गिरीले सरकारले संघीय संसदमा पेस गर्ने कानूनहरुको प्राथमिकिकरण गरेको बताउनुभयो । उहाँले सरकारले ६३ वटा विधेयकहरुलाई पहिलो प्राथमिकतामा, ३९ वटा विधेयकहरुलाई दोस्रो प्राथमिकतामा र १५ वटा विधेयकहरुलाई तेस्रो प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो ।
मन्त्री गिरीले मन्त्रालयले नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा संघीय संसदमा दर्ता गर्न लागेको पनि बताउनुभयो । उहाँले संविधानको प्रावधानभित्र रहेर न्यायाधीशहरु नियुक्त गरिएको भन्दै न्यायाधीश नियुक्तीमा आशंका नगर्न आग्रह पनि गर्नुभयो । मन्त्री गिरीले न्याय सम्पादनलाई छिटो, छरितो र पारदर्शी बनाउन अदालतमा केही सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले मिडिया ट्रायलले अदालतको मुद्दा निरुपणमा कुनै प्रभाव नपार्ने बताउनुभयो । उहाँले ऐनहरु समयानुकुल बनाउन र नागरिकको हितमा कानुन बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।