अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 16:11

पशुपतिको भेटी चोरी प्रकरण : एक जनाबाहेक सबै पुर्पक्षका लागि थुनामा

बिआरटीनेपाल २०८१ असार ६ गते ६:१३ मा प्रकाशित

पशुपतिको भेटी चोरी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले सत्य नारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेपनि अरू प्रतिवादीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

सीसीटीभी फुटेजमा हेर्दा पशुपतिनाथ मन्दिरको भेटी चोरेको खुलेसँगै प्रहरी वृत्त गौशालाको प्रतिवादीहरूलाई हिरासतमा राखेर अनुसन्धान सकेपछि मुद्दा अदालतमा पुगेको थियो । भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाई र अनिल परियार संलग्न रहेको भन्दै अदालतमा मुद्दा पुगेको छ ।

यसबारे बुधबार थुनछेक बहस सकिए अदालतले एक जनाबाहेक सबैलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले यिनै ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको थियो । भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय