मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित १० जना कर्मचारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकोमा बुधबार सजाय निर्धारण गरेको छ। अख्तियारले गत कात्तिक २० गते आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरुको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम दाखिला नगरी हिनामिना गरेको उजुरीको छानबिन हुँदा भ्रष्टाचार भएको पुष्टि भएपछि कार्यालयका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको गरेको थियो।
उक्त मुद्दामा गत जेठ १८ गते न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले सबैलाई दोषी ठहर गरेको थियो। बुधबार सोही इजलासले सजाय निर्धारण गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रलाई आठ वर्ष कैद र दुई करोड ५० लाख २३ हजार ९८१ जरिवाना भएको छ। तत्कालीन मालपोत अधिकृत भुपबहादुर बोगटी र तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीलाई पनि आठ वर्ष कैद दुई करोड ५० लाख २३ हजार ९८१ जरिवाना भएको छ।
तत्कालीन मालपोत अधिकृत गोपालबहादुर ढुंगानालाई ७० लाख, ९१ हजार ९०० जरिवानासहित ४ वर्ष कैद, पदमप्रसाद अर्याललाई २ वर्ष कैद र ३३ लाख ६३ हजार दुई सय जरिवाना भएको छ। यस्तै, तत्कालीन नायब सुब्बा किरण प्रसाद उपाध्याय, उनकी श्रीमतीको पनि मृत्यु भइसकेकोले उनीहरुको छोराहरु राजकिशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपतीप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग जरिवानाबापतको रकम असुल उपर गर्न विशेषले आदेश दिएको छ।