पश्चिमा राष्ट्रहरूको समूह जी ७ रूसको केन्द्रीय बैंकले पश्चिमा देशमा राखेको ३ सय अर्ब डलर भन्दा धेरै सम्पत्ति प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिन सहमत भएको छ। इटालीमा भइरहेको जी७ समूहको शिखर सम्मेलनमा सहभागी सरकार प्रमुखहरू रूसको सम्पत्ति प्रयोग गरी युक्रेनलाई ऋण सहायता दिन बिहीबार सहमत भएका हुन्। जी ७ समूह र युरोपियन युनियनका राष्ट्रहरूले रूसले राखेको करिब ३२५ अर्ब डलरको सम्पत्ति उसले युक्रेनमा आक्रमण गरेपछि रोकेर राखेका छन्। सोही रोकिएको रूसी सम्पत्ति प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिन जी ७ समूह र युरोपियन युनियन सहमत भएका छन्।
ऋणका लागि एउटा संयन्त्र बनाइने छ जसमा धेरै ऋणदाताले लगानी गर्ने छन्। तर त्यो ऋण युक्रेनले नभएर रोकेर राखिएको रूसी सम्पत्तिबाट हुने आम्दानीले तिरिने छ। सो ऋणका भरपाइ भएन भने के हुन्छ भन्ने लगायत कुरामा सहमति हुन भने बाँकी छ। सबै ५० अर्ब डलर एकैचोटी युक्रेनलाई नदिएर धेरैवटा किस्तामा दिइनेछ र पहिलो किस्ता पनि यो वर्षको अन्त्यतिर मात्रै दिइनेछ। कतिपय राष्ट्रले रोकिएको सबै रूसी सम्पत्ति तुरून्तै युक्रेनलाई हस्तान्तरण गर्नु पर्ने भने पनि अन्तर्राष्ट्रिय मुद्रा कोष र युरोपेली केन्द्रीय बैंकले त्यसो गरे अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमाथि संसारको विश्वास गुम्न सक्ने भन्दै रोकेकाले ऋणको माध्यमबाट सहायता दिन सहमति भएको हो।