अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 04:56

२० जनालाई रोजगारी दिए व्यवसायीलाई ३ वर्षसम्म कर छुट दिने काठमाडौं महानगरको घोषणा

बिआरटीनेपाल २०८१ असार १ गते ९:०७ मा प्रकाशित

आगामी आर्थिक वर्षदेखि काठमाडांै महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर मेयर बोलन्द्र (बालेन) साहले यस्तो घोषणा गर्नुभएको हो । मेयर साहले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले महानगर क्षेत्रका सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाईने उल्लेख गर्नुभयो ।

मेयर साहले सहकारी सूचना केन्द्रको स्थापना गरी वचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो । उहाँले विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुदलाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने बताउनुभयो । उहाँले सबै स्रोत केन्द्रमा कम्तिमा एक जना मनोपरामर्शदाता र एक जन नर्सको व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

मेयर साहले पूर्वप्राथमिक तहका कक्षा कम्तिमा दुई तहमा सञ्चालन गर्ने व्यवस्था मिलाउँदै विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने खालको क्षमता विकास गर्न सामुदायीक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तर सुधार गरिने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुको दिवा खाजाका लागि डाइट योजना सहितको मापदण्ड लागू गरिने उल्लेख गर्नुभयो ।

मेयर साहले २ सय भन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा सेन्टर किचनको अवधारणा ल्याउने बताउनुभयो । उहाँले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गैरसरकारी संस्थाहरुबाट उपलब्ध गराउदै आएको छात्रावृत्तिलाई काठमाडौं महानगरपालिकाको एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो । उहाँले अटिजम भएका विद्यार्थीलाई लक्षित गर्दै विशेष विद्यालय स्थापना गरी सञ्चालन गरिने उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई पढ्दै कमाउँदै अवधारणा बमोजिम पाट टिइम काम गर्नेगरी रोजगारी सिर्जनाका लागि आवश्यक प्रवन्ध मिलाइने घोषणा गर्नुभयो ।

मेयर साहले काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयको चलअचल सम्पतीलाई शैक्षिक प्रयोजनको लागि मात्रै प्रयोग गर्ने व्यवस्था गरिने बताउनुभयो । उहाँले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताउनुभयो । उहाँले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताउनुभयो । उहाँले काठमाडौं महानगरलाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त शहर बनाइने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय