अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४७ | Colorodo: 18:02

कुवेतमा कामदार बस्ने ६ तले भवनमा आगलागी : ४१ जनाको मृत्यु, भवनमा नेपाली पनि रहेको आशंका

बिआरटीनेपाल २०८१ जेठ ३० गते ५:५७ मा प्रकाशित

दक्षिण कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आगलागीमा परी कयौँ घाइते भएका छन् । “आगलागीले ठूलो क्षति गरेको भन्ने सूचना पाउनबित्तिकै दूतावासबाट तीनजना बुझ्नका लागि पठाएको छु,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले भन्नुभयो, “उक्त घरमा नेपाली पनि रहेको भन्ने गैरआवासीय नेपाली साथीहरूले भन्नुभएको छ । विस्तृत विवरण आएको छैन ।”

उहाँका अनुसार घटनास्थलमा बुझ्नका लागि कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीन जनालाई पठाइएको छ । “अहिलेसम्म घटनामा नेपाली परेको भन्ने कुनै सूचना आएको छैन । तर त्यहाँ नेपाली पनि रहेको भन्ने सूचना आएपछि बुझ्नका लागि तीनजना पठाएका हौँ,” राजदूत लम्सालले भन्नुभयो । आगलागीको घटना स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे भएको थियो । आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुग्नुभएको थियो । उपप्रधानमन्त्री अल–सबाहले घरजग्गा मालिकमाथि नियमको उल्लघन गरी भवन बनाएको आरोप लगाउनुभएको छ ।

“जुन भवनमा आगलागी भएको थियो, त्यो भवनमा कामदारहरू बस्नका लागि प्रयोग हुन्थ्यो । त्यहाँ ठूलो संख्यामा कामदारहरू थिए । आगलागीपछि दर्जनौँको उद्धार गरियो, तर दुर्भाग्यवश आगोको धुवाँको कारण धेरैको मृत्यु भयो,” एकजना वरिष्ठ प्रहरी कमान्डरले भनेका छन् । ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू