राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिनुभएको छ । बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रणमा निर्देशन दिनुभएको हो ।
लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको उहाँले बताउनुभयो । सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने लामिछानेको भनाइ थियो । कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उहाँले बताउनुभयो ।
‘भन्सारमा कसरी अबैध काम भइरहेको छ ? गैर–व्यवसायिक काममा को–को संलग्न छन् ?उनीहरु कानूनको कुन कमजोर पक्षको फाइदा उठाइरहेको छन् ?’ अधिकारीहरुलाई प्रश्न गर्दै मन्त्री लामिछानेले भन्नुभयो, ‘सबै कुरा जान्दा–जान्दै पनि गलत क्रियाकलाप नियन्त्रण गर्न नसक्नुबारे गम्भीर समीक्षा गरेर सुधारका कार्ययोजना बनाउनुस् ।’
जिल्लामा अबैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने उहाँले बताउनुभयो । अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी पनि लामिछानेले दिनुभएको छ ।