अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४९ | Colorodo: 14:04

नेजाको १७औं साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०८१ जेठ २६ गते ८:२८ मा प्रकाशित

बोस्टन । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं वार्षिक साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा सम्पन्न भएको छ । बोस्टनस्थित पशुपतिनाथ बुद्ध मन्दिर तथा नेपाली सामुदायिक भवन (प्याब्फोन) मा मे २५ र २६ २०२४ मा सो कार्यक्रम सम्पन्न भएको हो । दुई दिनसम्म सञ्चालन भएको साधारण सभाले संघको विधानमा आवश्यक संशोधन गर्नुका साथै महासचिव बाबुराम दाहालद्वारा प्रस्तुत महासचिवको (सांगठनिक) प्रतिवेदन र कोषाध्यक्ष जानु पंगेनीद्वारा प्रस्तुत कोषाध्यक्षको (आर्थिक) प्रतिवेदन छलफलसहित पारित गरेको छ ।

म्यासाच्युसेट्स राज्यको बोस्टन सहरस्थित पशुपतिनाथ बुद्ध मन्दिर तथा नेपाली सामुदायिक केन्द्रको सभाकक्षमा आयोजना गरिएको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने पत्रकारिता क्षेत्रका अगुवा तथा नेपाली समुदायका अगुवाहरूले प्रवासमा नेपाली समुदायलाई बलियो बनाउन समुदाय तथा पत्रकार बीचको साझेदारी र सहकार्य आवश्यक भएको बताउनुभएको थियो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिव बाबुराम दाहालको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापाले भौतिक रूपमा जहाँ भए पनि नेपालीभाषी मिडियाले नेपाली समुदायको पक्षमा वकालत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । आयोगका कार्यक्षेत्रमध्ये करिब १० वटा कार्यक्षेत्र पत्रकारिता क्षेत्रसँग सम्बन्धित रहेको बताउँदै नेपालमा मानव अधिकार, प्रेस स्वतन्त्रताको पक्षमा नेजासँग सहकार्य गर्न सकिने आयुक्त थापाको भनाइ थियो ।

यसैगरी, गभर्नर्स एडभाइजरी काउन्सिल अन रेफ्युजी एन्ड इमिग्रेन्ट अफ कमनवेल्थ, म्यासाचुसेट्सका चेयरमेन प्रह्लाद केसीले अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको सहभागिता बढाउन सकिएमा नेपाली समुदाय अझ सशक्त हुने धारणा व्यक्त गर्नुभयो । यसैगरी, राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष यशोदा तिम्सिनाले प्रवासमा रहेका नेपाली समुदायबीच सही सूचना प्रवाह गर्न प्रवासी मिडियाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।

यस्तै, गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष प्रेम तामाङले समुदाय बलियो बनाउन मिडियाको भूमिकाको चर्चा गर्दै एनआरएनए अमेरिकाले नेजासँगको सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउँदै लगिने बताउनुभयो । यसैगरी, गैरआवासीय नेपाली संघ अमेरिकाका मिडिया संयोजक सतीश चापागाईंले समुदायलाई सूचनाको माध्यमबाट सशक्तीकरण गर्न संघले छुट्टै मिडिया टिम निर्माण गरेको बताउँदै आगामी दिनमा यस कार्यमा नेजासँगको सहकार्यलाई थप प्रभावकारी बनाइने धारणा राख्नुभयो ।

नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलले पछिल्लो समय अमेरिकामा नेपालीहरूको जनसंख्या वृद्धि भइरहेको अवस्थामा नेपाली मिडियाले सूचना तथा सञ्चारको माध्यमबाट समुदायको एकता र सशक्तीकरणमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा नेजाका पूर्वअध्यक्ष भोला आचार्यले नेजा नेपाली मूलका पत्रकारहरूको छाता संस्था भएकाले पेसागत रूपबाट निष्पक्ष पत्रकारिताको माध्यमबाट नेपाली समुदायलाई ऐक्यबद्ध बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिकामा रहनुभएका नेपाली समुदायलाई सुसूचित गर्ने र नेपाली पत्रकारितालाई व्यावसायिकतातर्फ अगाडि बढाउने पहलकदमी सुरू गरिएको बताउनुभयो । यसका लागि नेजा र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ र विश्वसनीय बनाउन आफू लागिपरेको बताउनुभयो ।

यसैगरी, नेजाको १७औं साधारण सभाका कन्भेनरसमेत रहनुभएका सुपेन्द्र बस्नेतको स्वागत मन्तव्य र नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा बोर्ड अफ एजुकेसन ब्रानफोर्ड टाउन कनेन्टिकटका डाइरेक्टर रामचन्द्र श्रेष्ठ, ब्रानफोर्ड टाउन रेप्रिजेन्टेटिभद्वय चिरन न्यौपाने र ज्ञानु श्रेष्ठ, नेपाल सरकारका पर्यटन प्रवर्धक मिलन गुरुङ, नेजाका संस्थापक सदस्य शिव प्रकाश, सञ्चारकर्मी नारायण श्रेष्ठ, खेल पत्रकार विनोद पाण्डे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनआरएनए म्यासाच्युसेट्स च्याप्टर, पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ल्यान्ड (प्याब्फोन), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासाच्युसेट्स च्याप्टर, नेपाली वोमन्स ग्लोबल नेटवर्क न्यू इंग्ल्याण्ड च्याप्टर (NWGN) बोस्टनलगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया