अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 10:58

१८३ स्टार्टअप उद्यमीले सहुलियत कर्जा पाउँदै, साढे १९ करोड बैंकमा पठाइयो

बिआरटीनेपाल २०८१ जेठ २६ गते ५:५० मा प्रकाशित

सरकारले अन्ततः चालु आर्थिक वर्ष २०८०/०८१ मा १८३ स्टार्टअप फर्म तथा कम्पनीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । शुक्रबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सिफारिसमा परेका परियोजनाहरूको विवरण सार्वजनिक गरेको हो । प्रतिष्ठानका अनुसार सिफारिस भएका फर्म तथा कम्पनीले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको ठेगाना जे‍ठ २९ गतेभित्र प्रकाशित गरिनेछ । त्यसको ३० दिनभित्र सिफारिसमा परेका स्टार्टअपले तोकिएको शाखामा सम्पर्क गरी आवश्यक कागजात एवं विवरण बुझाएर तोकिएको कर्जा पाउनेछन् ।

सुरुमा करिब साढे १६ सय कम्पनीले कर्जाका लागि आवेदन दिएका थिए । त्यसपछि प्रस्तुतीकरणबाट करिब साढे ३०० कम्पनी छानिएका थिए । अन्तिम चरणको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अंकभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि १८३ कम्पनी सिफारिसमा परेको प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले यी कम्पनीहरूलाई मूल्यांकनका आधारमा २५ लाखसम्मको कर्जा मिल्ने बताउनुभयो । उहाँका अनुसार सबै स्टार्टअपका लागि गरेर १९ करोड ४० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध हुनेछ ।

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रुपैयाँ छुट्याएको थियो । त्यसको करिब २५ प्रतिशत कर्जा सुरक्षण कोषमा गएको छ । बाँकी रकम वाणिज्य बैंकमा पठाइ सकेका प्रतिष्ठानले जनाएको छ । तीन प्रतिशत ब्याजदरमा पाइने यो कर्जा दुई वर्षभित्र तिर्न सुरु गरिसक्नुपर्नेछ । पाँच वर्षभित्र सबै कर्जा भुक्तानी गर्नुपर्नेछ । कर्जा लिएर भुक्तान नगर्नेलाई स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० को दफा १३ बमोजिम कारबाही हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा समेत सरकारले स्टार्टअप कम्पनीलाई सहुलियतपूर्ण कर्जा दिने भने पनि सफल भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय