अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 15:00

देशभरका जग्गाको फेरि नापी गर्नुपर्छ : मन्त्री अधिकारी

बिआरटीनेपाल २०८१ जेठ २५ गते ५:४६ मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वैज्ञानिक अभिलेखिकरणका लागि देशभरका जग्गाको फेरि नापी गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले देशभरका जग्गाको फेरि नापी गर्नु जरुरी भएको बताउनुभएको हो । उहाँले उहाँले २०२१ सालपछि गरिएको नापी अहिले अव्यहारिक भइसकेको बताउनुभयो ।

मन्त्री अधिकारीले विगतमा गरिएको नापी अनुरुपको जग्गा जमिन तथा वनजङ्गल नभएको भन्दै वैज्ञानिक अभिलेखिकरणका लागि फेरि नापी गर्नुपर्ने बताउनुभयो । उहाँले नापीको बेलामा बस्ती भएको ठाउँ अहिले जङ्गलमा परिणत भइसकेको र जङ्गल भएको ठाउँ बस्तीमा रुपान्तरण भइसकेको भन्दै पुनः नापी गर्नुपर्ने औचित्य प्रस्ट्याउनु भयो ।

मन्त्री अधिकारीले सरकारसँग जग्गा, जमिनको आधुनिक व्यवस्थापन परिपाटी नभएको बताउनुभयो । उहाँले अझैपनि सरकारले परम्परागत शैलीबाट काम गरिरहेको भन्दै पुराना रेकर्डहरु नभेटिने अवस्था रहेको पनि बताउनुभयो । कतिपय पुराना रेकर्डहरु कर्मचारीले गलत धन्दा गरेका कारण उनीहरुले नै गायव पारेका उहाँको भनाई छ । मन्त्री अधिकारीले जमिनको वैज्ञानिक रुपमा अभिलेखिकरण गर्न समय लाग्ने बताउनुभयो । उहाँले सरकारले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरुको यकिन तथ्याङ्क दिन नसक्ने पनि बताउनुभयो ।

मन्त्री अधिकारीले स्थानीय तहले आफ्नै खर्चमा वैज्ञानिक रुपमा नापी गर्न चाहेमा मन्त्रालयले बाटो फुकाउने पनि बताउनुभयो । त्यस्तै मालपोत कार्यालय र नापी कार्यालय फरक–फरक ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीले दुःख पाएका भन्दै एकै ठाउँबाट सञ्चालन गर्ने सन्दर्भमा मन्त्रालयको सोच रहेको उहाँले जानकारी दिनुभयो । उहाँले गुठी जग्गाको लगत निकाल्नको लागि गुठीको एकीकृत कानून बनाउनुपर्ने बताउनुभयो । उहाँले गुठीको लागि मन्त्रालयले छिट्टै कानून अगाडी बढाउने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय