अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

कोलोराडोमा नेपाली भाषा पाठशाला शुरू

बिआरटीनेपाल २०८१ जेठ २० गते २१:२९ मा प्रकाशित

अरोरा, कोलोराडो । अमेरिकाको कोलोराडो राज्यको अरोरामा नेपाली भाषा पाठशाला सञ्चालनमा आएको छ । साना भाइ लहन शाक्यले रिबन काटेर पाठशालाको औपचारिक रूपमा समुद्घाटन गरेका हुन् । स-साना नानीहरूको ग्रीष्मकालीन छुट्टीमा नेपाली मातृभाषा सिकाउने ध्येयले विगत ५ वर्षदेखि निरन्तरता दिँदै आएको व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य राजु खनालले बताएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिवले यस वर्ष स्कुल सञ्चालनमा सहयोगी नियमित तथा अतिथि शिक्षक/शिक्षिकाहरू एवं स्वयं सेवक/सेविकाहरूको परिचय गराएका थिए । अनेसासले गत वर्षदेखि यो स्कुल चलाउन सघाउँदै आएको छ भने उत्तरी क्षेत्रका लागि दिदी बहिनी समूह लगायत अन्य सामाजिक संस्थाहरूको सहयोगमा नेपाली घरमा विगत ३ वर्षदेखि नेपाली भाषा सञ्चालन गर्दै आएको छ ।

अरोरा पाठशालाको शुरू दिनमा उद्घाटनसँगै विद्यार्थी भर्ना, सामान्य Assessment Test र विद्यार्थीलाई पाठ्य सामग्री सहितको फोल्डर वितरण गरिएको थियो । आज नेपाली भाषा पाठशाला अरोरामा जम्मा ३५ बालबालिकाको भर्ना गरियो भने थप दश जना अर्को हप्ताबाट जोडिने स्कुल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य राजेन्द्र सिग्देलले बताएका छन् । त्यस्तै गरेर नेपाली घरमा आजकै दिनबाट शुरू उद्घाटन गरिएको पाठशालामा ४८ जना बाल बालिकाहरूको भर्ना गरिएको र थप ८ जना पनि जोडिने भएको अनेसास कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलाले जनाएका छन् ।

प्रतिक्रिया