अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 06:49

गएको वर्ष औसत २६ दिन अतिरिक्त गर्मी : जलवायु परिवर्तन नै मुख्य कारण

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:२९ मा प्रकाशित

विश्वले पछिल्लो १२ महिना अर्थात् गएको वर्ष औसत २६ दिन अतिरिक्त अत्यधिक गर्मीको अनुभव गरेको छ । यो जलवायु परिवर्तन बिना सम्भव नरहेको एक प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनले संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाएको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदन रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टर, वर्ल्ड वेदर एट्रिब्युसन साइन्टिफिक नेटवर्क र गैरनाफामुखी अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले प्रकाशित गरेका हुन् । युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन, कोपर्निकसकाअनुसार सन् २०२३ रेकर्डमा सबैभन्दा तातो वर्ष थियो ।

गएको वर्ष चरम गर्मीको लहरले मेक्सिकोदेखि पाकिस्तानसम्म विश्वको धेरै भागलाई प्रभावित पार्‍याे । पछिल्लो १२ महिनामा झण्डै छ अर्ब ३० करोड मानिस अर्थात् (विश्व जनसङ्ख्याको झन्डै ८० प्रतिशत) ले कम्तिमा ३१ दिन चरम गर्मीको अनुभव गरेका प्रतिवेदनमा उल्लेख छ ।

समग्रमा अन्टार्टीका बाहेक हरेक महादेशका ९० विभिन्न देशमा ७६ वटा चरम गर्मीको लहर दर्ता भएका थिए । सबैभन्दा बढी प्रभावित पाँच देश ल्याटिन अमेरिकामा थिए । अत्यधिक गर्मीकै कारण दशौँ हजार मानिसले ज्यान समेत गुमाएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले बाढी र आँधी हेडलाइन बन्ने गरेका तर अत्यधिक गर्मीको प्रभाव पनि उत्तिकै घातक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू