अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 21:13

अस्पतालमा लामो समय कुर्नुपर्ने समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:२७ मा प्रकाशित

सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डाक्टर दिपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिले काठमाण्डौ उपत्यकाभित्रका संघीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो सयमसम्म पालो कुर्नुपर्ने, रिफर, सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश पाएको छ ।

यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइका कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या, उनीहरुको दैनिक सेवा विवरण तयार पार्न पनि समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने ओपिडी सेवा सम्बन्धमा पनि प्रतिबेदन तयार पार्नेछ ।

यस्तै समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण, त्यही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए त्यसको विवरण प्रस्तुत गर्नेछ । यस्तै अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवम् अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए/नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय