सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याउनुभएको टिप्पणी पनि गर्नुभयो । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उहाँले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गर्नु यो ।
अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताउनुभयो । अध्यक्ष ओलीले बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांंसदहरुलाई निर्देशन दिनुभयो ।