युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि क्रिकेट मैदान नजिकै खेलाडीहरूका लागि आवासको व्यवस्था गरिने बताउनुभएको छ ।त्रिवि क्रिकेट मैदानको निरीक्षण एवम् अवलोकनका लागि आज कीर्तिपुर पुग्नुभएका खेलकुदमन्त्री श्रेष्ठले अन्य देशहरूमा मुख्य मैदान नजिकै खेलाडीहरूका लागि आवासको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि त्यही अनुभवबाट सिक्दै खेल मैदान नजिकको क्षेत्रमा नै खेलाडीहरूका लागि आवास निर्माण गर्न होटल व्यवसायी सङ्घ (हान) सँग आग्रह गर्ने बताउनुभयो । यसले खेलाडीहरूलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उहाँको विश्वास छ ।
खेलकुदमन्त्री श्रेष्ठले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटिका कारण रोकिरहेको भन्दै आउँदो आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताउनुभयो । त्रिवि क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि उहाँको भनाइ छ । यस्तै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदानमा पूर्वाधार बनाउने काममा आफूहरू लागेको बताउनुभयो ।