अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 03:06

निजी क्षेत्रसँग मिलेर आर्थिक विकास गर्नेगरी बजेट ल्याएका छौं : अर्थमन्त्री पुन

बिआरटीनेपाल २०८१ जेठ १६ गते ६:३० मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँग मिलेर आर्थिक विकास गर्नेगरी बजेट ल्याएको दाबी गर्नुभएको छ ।संघीय संसदमा पेस गरेको बजेटका विषयमा बुधबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पुनले यस्तो दाबी गर्नुभएको हो ।अर्थमन्त्री पुनले सरकार एक्लैले सबै काम गर्न नसक्ने भन्दै सरकारले निजी क्षेत्रलाई साथमा लिएर आत्मबल वृद्धि गर्नेगरी बजेट आएको बताउनुभयो । उहाँले सरकारेले निजी क्षेत्रलाई साथमा लिएर मात्रै अबको आर्थिक विकासमा अगाडि बढ्ने बजेटको कार्यदिशा रहेको बताउनुभयो । उहाँले सडक, पूर्वाधार, पुलसहितको पूर्वाधार विकासमा राज्य एक्लैले खर्च गर्न नसक्ने भन्दै अर्थतन्त्रमा ८० प्रतिशत योगादन दिने निजी क्षेत्रसँग सहकार्य गरेर जान खोजिएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पुनले ७५ देखि ८० प्रतिशत खर्च गरिरहेको निजी क्षेत्रलाई साथमा लिएर नै देशले विकास गर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई मनोबल उच्च गर्ने,प्राथमिकता दिने,विश्वासमा लिने, साथमा लिएर हिँड्ने गरी निजी क्षेत्रमैत्री बजेट ल्याउने कोशिस गरेको बताउनुभयो । उहाँले सरकारका सीमा र अवस्थितिहरुले अनुमति दिएसम्म निजी क्षेत्रलाई साथै लिएर जाने र ठूला पूर्वाधार निर्माणमा सहकार्य गरिने बताउनुभयो ।अर्थमन्त्री पुनले पूर्वाधार विकास गर्न खर्बौंको आवश्यकता रहे पनि राज्य एक्लैले खर्च गर्नसक्ने भन्दै निजी क्षेत्रलाई अगाडि ल्याउने बताउनुभयो । उहाँले सरकारले नयाँ चरणको आर्थिक सुधार गर्ने गरी बजेट ल्याइएको उल्लेख गर्नुभयो । उहाँले आर्थिक सुधार आयोग गठन गरी आयोगले दिएका सकारात्मक सुझावका आधारमा आर्थिक सुधार गरिने बताउनुभयो ।

अर्थमन्त्री पुनले बजेटमार्फत सरकारले आम जनतामा आशा जगाउने कोशिस गरेको पनि उल्लेख गर्नुभयो । उहाँले युवा पुस्ताहरुलाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउन प्रयास गरिएको पनि बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले सरकारले बजेटमार्फत दिन खाजेको सन्देश नयाँ चरणको सुधारको आवश्यकता भएको बताउनुभयो ।अर्थमन्त्री पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान बजेटमा उल्लेख कुरालाई कार्यान्वयन गरिने बताउनुभयो । उहाँले अहिले कोही पनि सहकारीका कारण निरुत्साहित हुनु नपर्ने पनि दाबी गर्नुभयो । उहाँले सहकारीमा सञ्चालकले गल्ती नगरेको भए डराउनुपर्ने अवस्था नभएको बताउनुभयो ।

अर्थमन्त्री पुनले सहकारीमा संरचनात्मक र नीतिगत सुधार आवश्यकलाई सरकारले तत्काल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सहकारीका सञ्चालकले वचतकर्ताको वचत फिर्ता नगरेपछि एकाघर परिवारका सदस्यले राखेको सम्पतीको धितोबाट ५/५ लाख रुपैयाँ भएपनि फिर्ता गर्नतर्फ आफूहरु लागेको बताउनुभयो । उहाँले यसैबाट वचतकर्ताको हित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई संविधानले पनि तीन खम्बे अर्थ नीतिमा एक खम्बा मानेको अवस्थामा केही सहकारीले ऐन कानून, सहकारीको मूल्य मान्यता, सिद्धान्त भन्दा बाहिर गएर कारोबार गर्दा यो क्षेत्र बद्नाम भएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पुनले सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कानूनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्‍चालन हुने व्यवस्था गरिने, वचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने, बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गरिने व्यबस्था गरेको बताउनुभयो । अर्थमन्त्री पुनले उद्योगलाई प्रतिष्पर्धी बनाउन स्पञ्ज आइरनमा कर बढाएको उल्लेख गर्नुभयो । उहाँले उद्योगहरुलाई प्रतिष्पर्धी बनाउन स्पञ्ज आइरनमा कर बढाएको स्पष्टिकरण दिनुभयो । अर्थमन्त्री पुनले तीनवटा स्ल्याब बनाएर स्पञ्ज आइरन र ब्लेडमा भन्सार लगाइएको बताउनुभयो । उहाँले कच्चा पदार्थभन्दा तयारी सामान एक तह बढी कर हुनुपर्छ भन्ने निष्कर्षका साथ स्पञ्ज आइरनमा कर बढाएको बताउनुभयो । उहाँले कुनै व्यक्ति र उद्योग विशेषलाई हेरेर सरकारले निर्णय गर्ने नभएकाले सबै उद्योगलाई संरक्षण गर्ने दायित्व सरकारकै भएको बताउनुभयो । उहाँले आपसी सल्लाह र पर्याप्त छलफलबाटै स्पञ्जमा कर बढेको दाबी गर्नुभयो ।

अर्थमन्त्री पुनले सबै कच्चा पदार्थ नेपालमा ल्याएर प्रयोग गर्ने भएकोले मेट्रियलको स्क्राब, स्पञ्ज र ब्लेडलाई तीन भागमा छुट्याएर हेर्नुपर्ने निष्कर्ष निकालेको पनि बताउनु भयो । उहाँले पहिलो स्ल्याबका रूपमा स्क्रयापलाई १, स्पञ्जलाई २.५ र बिलेटलाई ५ प्रतिशतको भन्सार लगाएको बताउनुभयो । अर्थमन्त्री पुनले स्टिल उद्योगको कच्चा पदार्थमा पूर्वसरकारले निम्त्याएको विचलन सच्याएको बताउनुभयो ।

प्रतिक्रिया