अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

न्यू योर्कमा उभौलीको रौनक

बिआरटीनेपाल २०८१ जेठ १४ गते २१:२५ मा प्रकाशित

बिआरटिनेपाल संवाददाता

न्यू योर्क। न्यू योर्कमा बसोबास गर्ने किरात राई समुदाय आइतबार घाम नडुबेसम्म साकेला उभौलीको रौनकमा रमे। अमेरिकामै जन्मिएर हुर्किएका दोस्रो पुस्ताका किरात राई बालबालिका र युवा युवति सहित सबै किरात राई समुदयाले साकेला नाचे, ढोल झ्याम्टा बजाए, र मौलिक किराती गीत गाए।

किरात राई समुदायका डेढ सयभन्दा बढी मानिससहित करिब ५ सय नेपाली समुदाय साकेला उभौलीमा सहभागी भएका थिए। करिब आधा दर्जन अमेरिकी गोराहरुले पनि साकेला उभौलीका आनन्द लिए।

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले २१ वर्षदेखि अमेरिकामा साकेला उभौलीको आयोजना गर्दै आएको छ। न्यू योर्कमा बस्ने किरात राई समुदाय भने हरेक वर्ष न्यू योर्क सिटीस्थित क्वीन्सब्रिज पार्कमा साकेला उभौली गर्छन्। कार्यक्रमको आयोजना भने केआरएसए न्यू योर्क च्याप्टरले गर्छ।

कार्यक्रमको प्रमुख अतिथी अमेरिकाका लागि नेपालका बाणिज्यदूत बिष्णु कुमारी अधिकारी, मुख्य अतिथीमा गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए) न्यू योर्क च्याप्टर अध्यक्ष हेमन बहादुर मल्ल, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का उपाध्यक्ष रामकृष्ण महर्जन, फिप्नाकी सभामुख भारती राई र केआरएसएका केन्द्रिय अध्यक्ष खगेन्द्र राई थिए। कार्यक्रमको सभापतित्व केआरएसए न्यू योर्क च्याप्टरकी अध्यक्ष वाकासा बान्तावा राईले गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथी वाणिज्यदूत अधिकारीले किरात राई समुदायको महान चाड साकेला उभौलीको अवसरका सुख, शान्ति, समद्धिका लागि शुभकामना व्यक्त गरिन्। ‘रोजगारीको सिलिसिलामा हामी नेपालीहरुले जहाँ जुन मुलुकमा भएपनि आफ्नो मौलिक चाड पर्वहरुलाई विशेष महत्व र उत्साहका साथ मनाउँदै आइरहेका छौं,’ उनले भनिन्, ‘किरात राईहरुको साकेला उभौली पर्व एउटा राष्ट्रिय पर्व हो। किरात राई प्रकृति पुजक हुन्।’

फिप्नाका उपाधयक्ष महर्जनले कार्यक्रमको सफलताको शुभकामना दिए। केआरएसए केन्द्रिय अध्यक्ष खगेन्द्र राईले किरात राई समुदायको महान पर्व साकेला उभौली र उधौली कसरि प्रकृतिसँग जोडिएको छ र किरात राई समुदाय कसरि प्रकृति पूजक हुन् भन्ने प्रकाश पारे। ‘गर्मी लागेपछि चराचुरुङ्गी र जनावर पहाडतिर उक्लिन्छन्, जाडो छल्न तराईतिर झर्छन्,’ उनले उदाहरण दिँदै भने, ‘हाम्रा पीता पूर्खा पनि प्रकृतिको यहि परिवर्तन आत्मसाथ गर्दै जाडो छल्न तराई झर्थे, गर्मी छल्न पडाड उक्लन्थे।’ उनले केआरएसएले संस्कृति, पहिचान, र मुन्धुमको संरक्षण गर्न र जीवित राख्न २१ वर्षदेखि साकेला आयोजना गर्दै आएको बताए। ‘धर्म, संस्कार, संस्कृतिको यो उर्वर भूमिमा हाम्रो मुन्धुम, संस्कृति र सभ्यता जीवन्त राखौं, नमेटाउँ भन्ने हाम्रो उदेश्य हो,’ उनले भने।

साकेला उभौली कार्यक्रमकी संयोजक खुशी राईले कार्यक्रमको उदेश्य र महत्वबारे प्रकाश पारिन्। उनले अतिथी, कार्यक्रम ब्यबस्थापन टोली तथा कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गरिन्। ‘किरात राई समुदायको पहिचानसँग जोडिएको भाषा, संस्कार, संस्कृति जोगाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न हामीले यो कार्यक्रम आयोजना गर्दै आएका र्हौ,’ उनले भनिन, ‘हामी त्यसमा सफल छौं।’

नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष डण्डु गुरुङ तमु इन्क युएसएका अध्यक्ष ओम गुरुङ,थारुज एण्ड फ्रेण्ड्स एशोसियसनका अध्यक्ष सुरेन्द्र चौधरी, ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष ढुण्डुप लामा, युनाइटेड किरात राई अर्गनाइजेशनका अध्यक्ष जयन्ती राई, नेवा गुठी न्यू योर्कका अध्यक्ष बिजयमान सिंह, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दिपक थेबे, मगर एशोशियसन युएसए इन्कका अध्यक्ष याम पुन मगर, जिरेल एशोशियसन इन्कका अध्यक्ष शान्ति जिरेल, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष बुद्धिमान तामाङ, मुस्ताङ किदुग युएसएका अध्यक्ष पेम्बा रिन्जिन गुरुङ, ढोक्प्या किदुग युएसएका अध्यक्ष नाक्छुङ शेर्पा, तमु परिवार न्यू योर्कका अध्यक्ष मनिता गुरुङ, किरात खालिङ राई उत्थान संघ अमेरिकाका अध्यक्ष मकर खालिङ लगायतका विभिन्न संघ संस्थाका प्रतिनीधिलाइ अतिथीको आसन ग्रहण गराइएको थियो।

कार्यक्रम सञ्चालन केआरएसए न्यू योर्क च्याप्टर सचिव बिजय राईले गरेका थिए। सबै अतिथीहरुलाई किरात राई समुदायले प्रयोग गर्ने फेटा गुथाएर सम्मान गरिएको थियो। साथै सिलिमाङ्पा प्रजन राई र सिलिमाङ्मा यशोदा राईलाई पनि फेटा गुथाएर सम्मान गरिएको थियो। वाणिज्यदूत अधिकारीले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेकी थिइन्। कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान बजाइएको थियो।

प्रतिक्रिया