नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गरेको आरोप लगाउनुभएको छ । सोमवार काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणतन्त्र दिवस संविधान कार्यान्वयनः दलको उदासिनताका वा सरकारको ? विषयक गोष्ठीलाई सम्बोधन गर्दै नेता सिटौलाले उहाँले यस्तो बताउनुभएको हो ।
नेता सिटौलाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय ढंगले पक्राउ गरिएको बताउनु भयो । उहाँले अदालतलाई दोष दिएर उम्किने ठाउँ नरहेको बताउनुभयो । उहाँले सरकार एक्टिभ नभइ अदालतले पक्राउ गर्नु भनेर आदेश नदिने जिकिर गर्नुभयो । अदालतको प्रक्रियाबाट पक्राउ पुर्जी आयो, अदालतले छोडिहाल्ला भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ रहेको भन्दै हल्का जवाफ नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
नेता सिटौलाले संसद सामान्य कुरालाई लिएर अवरुद्ध भइरहेको पनि बताउनुभयो । उहाँले विगतका घटनाक्रमहरु नियालेर उपप्रधान एवं गृहमन्त्रीले आफैँ आरोप पुष्टि गर्नका लागि संसदीय छानबिन समिति बनाउन मार्ग प्रशस्त गर्नुपर्नेमा बनाउनु नै हुँदैन भन्ने अठोट लिएर हिँडिरहनुले पनि आरोप प्रमाणित हुने बताउनुभयो । उहाँले नेपाली काँग्रेस व्यक्तिगत रुपमा कुनै पूर्वाग्रह राखेर अघि नबढ्ने पनि दाबी गर्नुभयो ।
नेता सिटौलाले भन्नुभयो, ‘एउटा सामान्य कुरालाई लिएर संसद अवरुद्ध भएको छ । म सामान्य कुरा भन्दछु । गृहमन्त्रीमाथि आरोप लाग्यो, सारा प्रेस जगतले लेख्यो । संसदमा प्रतिपक्षले कुरा उठायो । संसदीय छानबिन समिति गठन गरौँ है भनेर कुरा त राखेको हो प्रतिपक्षले बढी केही कुरा राखेको होइन । विगतमा पनि यस्तो हुने गरेकै हो । विगतका मन्त्रीहरुका बारेमा पनि जब प्रश्न उठ्यो । संसदीय छानबिन समिति बन्ने गरेकै हो । त्यस्तै गरौँ भनेको सम्म त हो नि । यो पनि उठ्ने थिएन होला, सायद उहाँ गृहमन्त्री नबनेर अर्कै मन्त्री बन्नुभएको भए । प्रहरीले उहाँमाथि आफैँ अनुसन्धान गर्दथ्यो होला ।’
नेता सिटौलाले संविधानमा उल्लेख गरिएका नागरिक हकहरु कार्यान्वयन भए वा भएनन् भन्नेबारेमा सबैले समीक्षा गर्न आवश्यक भएको बताउनुभयो । उहाँले संविधानको कार्यान्वयन जनताको हितमा कति भयो ? भनेर समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुले सत्ता टिकाउन मेहनत र गिराउनका लागि मात्रै षड्यन्त्र गरिरहनु नहुने बताउनुभयो ।