अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

नेजाको १७ औं साधारण सभाको तयारी पूरा

बिआरटीनेपाल २०८१ जेठ ११ गते ९:४२ मा प्रकाशित

बोस्टन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को १७औं साधारण सभाको तयारी पूरा भएको छ । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्थाको साधारण सभामा अमेरिका र क्यानाडामा रहेका नेपाली पत्रकारहरू सहभागी हुने साधारण सभा आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले बताउनुभएको छ । बस्नेतले साधारण सभामा स्थानीय समुदायको उल्लेख्य सहयोग रहेको पनि बताउनुभयो । सो साधारण सभा यही मे २५ र २६, २०२४ मा अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन रहेको 594 Washington Street, Braintree, MA- 02184 स्थित नेपाली समुदायको संस्था ‘पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड (PABFONE) को सामुदायिक भवनमा हुँदै छ ।

साधारण सभाको उद्घाटन सत्रमा नेजाका सदस्यका साथै गैरआवासीय नेपाली अभियन्ता, अमेरिकाका विभिन्न सहरबाट निर्वाचित सिटी काउन्सिलका सदस्य र प्रबुद्ध व्यक्तिहरूको पनि सहभागिता रहनेछ । साधारण सभामा सहभागी हुनेहरूका लागि नेजाले आवासको प्रबन्ध गरेको कोषाध्यक्ष जानु पङ्गेनीले जानकारी दिनुभयो । साधारण सभाको अवसरमा नेजाको वार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘प्रयास’ स्मारिका यस पटक पनि प्रकाशन हुने महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो । साथै, साधारण सभामार्फत आउँदो वर्षका लागि नेजाका कार्यक्रम तय गर्नुका साथै संकलित सुझावका आधारमा विधानमा समेत केही संशोधन एवम् परिमार्जन गरिने महासचिव दाहालले बताउनुभयो ।

१७ वर्षअघि स्थापित नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै नेपाल र अमेरिकामा रहेका पत्रकारहरूबीच अन्तरक्रिया, अनुभव आदान-प्रदान, समस्यामा परेका पत्रकारहरूलाई आर्थिक सहयोग र गैरआवासीय नेपालीहरूका समस्यामाथि बहसलगायतका विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सुरज भण्डारीले बताउनुभयो । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरू नेजामार्फत सन् २००७ देखि संगठित हुन थालेका हुन् ।

प्रतिक्रिया