अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 19:26

बिच बजारमा पनि ध्यान- के सम्भव छ…?

रमा दुलाल २०८१ जेठ ११ गते ९:३६ मा प्रकाशित

लेख
आज हाम्रो जीवनको अपरिहार्य वस्तु बनेको छ- मोबाइल। मोबाइल बिना हामी एक छिन पनि एक्लै बस्न सक्दैनौ। हामी भिडभित्र हुन्छौँ; भीडमा हामी एक्लो हुन्छौँ, तर पनि मोबाइल हाम्रो साथी हुन्छ। यसबाट अछुतो सायद हामी कोही पनि छैनौँ होला…? साँचो बोल्नुपर्दा, म पनि पक्कै यसबाट अछुतो छैन। मैले आफूलाई स्विकार्नु पर्छ।

मोबाइलले मेरो पिछा गरेको हो कि….? मैले मोबाइलको पिछा गरेको हो….? मैले एकपल्ट सोच्नै पर्छ।

हुन त आज वैज्ञानिक युग हो। वैज्ञानिक उपजको प्रयोग गर्नु नराम्रो होइन। तर पनि हरबखत यसैसँग टाँसिएर बस्नु राम्रो पनि त होइन नि…। हैन र….?

बिहानको क्रिया-कर्म सिध्याउँछु । यसो घडी हेर्छु। ७ बजिसकेको हुन्छ। हतार हतार भान्छामा जान्छु। मोबाइललाई ओभनमाथि राख्छु। र खाना पकाउन थाल्छु। खाना पकाउनु मेरो दैनिकी हो।

त्यत्तिकैमा मोबाइलमा म्यासेजको घण्टी बज्छ। टिङ्ग्-टिङ्ग्-टिङ्ग..मलाई हतार हुन्छ- कसको म्यासेज आयो भन्दा पनि कस्तो मेसेज आयो भन्नेमा…..?

ग्याँसलाई मसिनो बनाउँछु र मोबाइल समातेर मेसेज पढ्न थाल्दछु। ओशो भक्ति साधना केन्द्रबाट “बिच बजारमा ध्यान हो- झन् गहिरो” भन्ने विषयमा आउँदो शनिवार हुने विशेष ध्यान सत्सङ्गको म्यासेज आएको रहेछ। म पुनः पढ्छु।

“बिच बजारमा ध्यान”- अनौठो लाग्छ।

“किनकि, भिडभाड भएको ठाउँमा या बिच बजारमा ध्यान केन्द्रित गर्न गाह्रो वा लगभग असम्भव हुन्छ। वरी-परिको भिडको आवाज, त्यसबाट निस्कने वायु प्रदूषण, आवाज प्रदूषण, आदीले हाम्रो मनस्थितिलाई एकाग्र गर्न सक्दैन। परिस्थिति मनस्थिति प्रतिकूल हुन पुग्छ । अनि ध्यान लाग्न सक्दैन” -म त्यो म्यासेज पढेर मन-मनै गुन्छु ।तर भित्र -भित्रै रमाइलो पनि लाग्छ । केही नयाँ कुरा सिक्ने सु-अवसर त हो- यो!!
मनले “जानुपर्छ है”- भन्छ। म मनलाई रोक्न सक्दिन। मनमनै जाने अठोट गर्छु।

शनिवारको दिन हो। परिस्थिति पनि मनकै अनुकूल छ। अरू दिन भए त सायद परिस्थिति प्रतिकूल हुन्थ्यो। शनिवार अनुकूल नै हुन्छ। घरको मान्छेलाई भन्छु। कोही- “जान्छु” भन्छन्, कोही- “काम छ” भन्छन्।

ठिकै हो, सबैलाई आफ्नो स्वतन्त्रता त छ नि । हैन र …? कसैलाई कर गर्दिन-म। कर गर्न पनि हुन्न। सबैको जीवन आफ्नो जीवन हो। सबैको लक्ष्य आफ्नो लक्ष्य हो। सबैलाई आफ्नो लक्ष्यमा पुग्ने मौका दिनुपर्छ। मेरो लक्ष्य मै हिँड्नुपर्छ भन्ने केही छैन । आफ्नो-आफ्नो गन्तव्य आफैले पहिल्याउने हो।

दिनको ठिक ३ बजे ओशो भक्ति ध्यान केन्द्र कमलपोखरी पुग्छु। बाटोमा केही साथीहरूसँग भेट हुन्छ। बुद्ध हल खचाखच भरिएको हुन्छ । कहाँ गएर बसौँ….? यसो नियाल्छु। केही खाली ठाउँ अगाडि देख्छु। त्यहाँ गएर बस्छु।

सङ्गीतको मिठो धुन बजिरहेको हुन्छ । धुनसँगै म पनि धुनी लगाउन पुग्छु। पुरा बुद्ध हलमा म एक्लै पो छु कि जस्तो लाग्छ ।

आँखाहरू आपसे आप बन्द हुन पुग्छन्। निष्पट अन्धकार…! अन्धकार भित्र-म…!! अन्धकारलाई नियाल्दै- नियाल्दै सङ्गीतको धुनमा म विलीन हुन पुग्छु। कति आनन्दित- पल! सङ्गीत अनि निराकार भित्रको “म” डुब्दै डुब्दै जान्छु……
ठम्याउन सक्दिन-म । अस्तित्व म भित्र छ कि, म अस्तित्वभित्र छु..? जीवन बाँच्नु हो कि जीवन मर्नु हो..? मन भित्र धेरै प्रश्न खेल्छन्- जीवन के हो त …?

ओशोको अद्भुत वचन कानमा गुञ्जन थाल्छ – “जीवन मृत्यु हो। तिमि मर!! मर , मिट ,एक दम मिट! किनकि मृत्यु भन्दा धेरै मिठो अरू कुनै चीज यो जगतमा छैन। जसरी मरेर गोरखलाई दर्शन प्राप्त भयो,यस्तै तिमी पनि मर!! यसरी नै तिमी पनि दर्शन प्राप्त गर्”
मृत्यु- जुन भोगेकै छैन; जुन देखेकै छैन-के त्यही “मृत्यु” नै जीवन हो त? के त्यही “मृत्यु” प्राप्तिको लागी हामी आज बाचेका छौ त ? “मृत्यु” नै जीवन हो भने -यो “मृत्यु” कस्तो हो? “मृत्यु” “मृत्यु” पनि फरक हुन्छ र मसँग कुनै उत्तर हुँदैन। म हराउँछु। म बिलाउँछु । म शून्य हुन पुग्छु। उत्तरहरू मभित्र छैनन्। म अनुत्तरित हुन्छु।

अनायास म झल्यास हुन्छु। सङ्गीतको धुन रोकिसकेको हुन्छ। अगाडि स्वामी मैत्रेयज्यू आएर बसिसक्नु भएको हुन्छ। आजको विषय सम्झन्छु- “बिच बजारमा ध्यान? हो! झन् गहिरो।“ मनमा एक किसिमको कौतूहल हुन्छ-सुन्ने…..!!

“हामी सधैँ एकान्तमा मात्र ध्यान गर्छौँ; कि घरको कोठा हामीलाई ध्यानको लागी उपयुक्त लाग्छ कि आश्रम। भिडभाडमा हामी ध्यानको लागि सोच्न पनि सक्दैनौँ। कोलाहलले भिड र वातावरणमा हामीलाई खलल पुर्‍याउँछ भनेर हामी सोच्छौँ । भिडमा पनि ध्यान गर्न सकिन्छ र… ? बिच बजारमा कसरी ध्यान हुन्छ..? गाडीको आवाज, मानिसको आवत-जावत, स्वर-गुल हाम्रो ध्यान भड्किँदैन र …? हामी सोच्छौँ । यसरी सोच्नु पनि स्वभाविक हो। सधैँ अनुकूल वातावरण भित्र एकान्तमा वा समूहमा ध्यान गरिरहेका हामीले यो सोच्नु कुनै अन्यथा होइन”- उहाँ बिस्तारै भन्दै जानुहुन्छ। म चुप-चाप सुनिरहन्छु।

“सधैँ वातावरण हाम्रो अनुकूल हुन्छ भन्न सकिँदैन । कुनै बेला वातावरण प्रतिकूल पनि हुन सक्छ । त्यस बेला के ध्यान नगर्ने त …? एकपल्ट सोचौँ त …? यसैले आजको विषय हो “बिच बजारमा पनि ध्यान” – म सुनिरहन्छु

“हामीले आफूलाई भिडभाड, कोलाहल, बस्नको लागि ठाउँ नभएको ठाउँमा पनि ध्यान गर्न सक्नु पर्छ । किनकि, ध्यान नै हाम्रो जीवन हो। ध्यान नै हाम्रो मृत्यु पनि हो। यसैले जहाँ पनि हामीले ध्यान गर्न सक्नु पर्छ। “बिच बजारमा पनि ध्यान गर्न सक्नु पर्छ “- उहाँ थप्दै जानुहुन्छ
“हामी यसको लागि एक प्रकारको अभ्यास गर्न सक्छौ; जुन वास्तवमा न बसी र पूर्ण रूपमा शान्त न भएको ठाउँमा पनि गर्न सक्छौ। यदि हामी हाम्रो वरपरको बारेमा सचेत भयौ भने, हामी आँखा खोलेर पनि ध्यान गर्न सक्छौ “-थप जिज्ञासा दिनुहुन्छ- उहाँ

“प्रथमतः जति पनि हामी आवाजहरू सुन्छौँ; चाहे त्यो मानिसको होस्, गाडीको होस् वा अन्यको होस् ती आवाजहरूलाई, ती ध्वनिहरूलाई पृष्ठभूमिमा मात्र राख्नु पर्छ, र अग्र भूमिमा श्वासको संवेदनामा सचेत रहनु पर्छ। आवाजहरूबाट छुटकारा पाउन आवश्यक पर्दैन, तिनीहरूसँग वरपरको वातावरणलाई स्वीकार गर्नु पर्छ। यो मानिसहरूको भीडमा हेर्दै र समूहमा आफ्नो साथी देख्नु जस्तै हो”- तरिका बताउनुहुन्छ
“चारैतिर के भइरहेछ…? त्यसलाई सजग भएर हेरौँ; अनि जे सुनिन्छ त्यसलाई साक्षी भावले सुनौँ। संवेदनाप्रति होस् त पूरा रहोस् तर प्रतिक्रिया नहोस् । प्रतिक्रिया सुन्ने सजगताद्वारा सजिलै मौन निष्पन्न हुन जान्छ । श्वास आउनु र जानुप्रति साक्षी बनौँ । यो कुनै श्रमपूर्ण चेष्टा नहोस्। अपितु, शान्त र शिथिल विश्राम पूर्व पूर्ण बोध मात्र होस्“-प्रक्रिया भन्नुहुन्छ –

“यसले हामीलाई कोलाहल, विचलित वातावरणबाट अलग गराउँछ। जब हामी हाम्रो वरिपरि सबै गतिविधिहरूबाट विच्छेद हुन्छौँ, हामी लगभग सबै बाह्य आवाज र वातावरणको लागी अनभिज्ञ हुन्छौँ; हाम्रो दिमागका बिन्दुहरू बाहिरी र भित्री गतिविधि को साक्षी बन्न पुग्दछ ।अनि, हामी स्वीकार भावमा जान्छौ। ध्यान केन्द्रित गर्न मद्दत गर्ने यो उत्तम तरिका हो। “-उहाँ प्रस्ट्याउनुहुन्छ

“अनि त थाहै नपाईकनै सहज र स्वभाविक रूपमा एक अत्यन्त प्रसादपूर्ण स्थितिमा हाम्रो प्रवेश हुनेछ । कहिले हाम्रो प्रवेश भयो…? त्यो पनि थाहा हुने छैन- हामीलाई । अचानक नै अनुभव हुनेछ कि हामी त्यहाँ छौँ जहाँ कि यसभन्दा पहिले कहिल्यै थिएनौँ।“- उहाँको प्रत्येक वाक्य मिठो लाग्छ।

“अतः सचेत, सर्व- स्वीकार, साक्षी भाव र श्वासमा ध्यान केन्द्रित गर्नु बिच बजारमा ध्यानका कडीहरू हुन्।“ उहाँ भन्दै जानुहुन्छ। हामी सुन्दै जान्छौँ। कति कुरा दिमागले बुझ्यो…? कति बुझेन…? मलाई थाहा छैन तर जति बुझे ज्यादै मननयोग्य र सारपूर्ण थियो। “ केही बेरपछि उहाँ मौन हुनुहुन्छ। हामी पनि मौन हुन्छौँ।

आँखा घडीमा पर्छन्। बेलुकाको ६ बजिसकेको हुन्छ। मलाई घर जान हतार हुन्छ। प्रसाद लिन्छु। बुद्ध हलबाट म बाहिर निस्कन्छु।
बाटोभरि सोच्दछु- चारैतिर एउटा हल्लै हल्लाले भरिएको दुनियाँ छ। दुनियाँ भित्र दुनियाँदारी छ, हल्ला-खल्लाको उपद्रवग्रस्त वातावरण छ । यो वातावरण भित्र मैले अवश्य पनि मौन र शान्तिको बाटो भुल्नु हुँदैन। तर आफूभित्र मौन र शान्ति खोज्ने बाटो ध्यान नै रहेछ।यस्ता धेरै कुरा सोच्दै म घर पुग्छु।

स्विज-अफ गरेको मोबाइल अन गर्छु ।मोबाइल अन गर्ने बित्तिकै म्यासेजका घण्टी बज्न थाल्छन्। मोबाइललाई माया गर्छु। समय-समयमा म्यासेज प्राप्त भएको घण्टी बजाएर मलाई थाहा दिने मेरो मोबाइललाई पनि म धन्यवाद नदिरहन सक्दिन। किनकि, उसले घण्टी नबजाइदिएको भए मैले म्यासेज पढ्ने थिइन, मेसेज नपढेको भए पक्कै पनि बिच बजारमा ध्यान कसरी गर्ने त…? भनेर थाहा पाउने पनि थिइन। म अनभिज्ञ हुने थिए। यसैले, हामीले विज्ञानको सही तरिकाले सदुपयोग गर्दै जस्तो सुकै वातावरणमा पनि ध्यान गर्न छोड्नु हुँदैन। अस्तु: