जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आजदेखि काठमाडौंको चन्द्रागिरिमा सुरु भएको छ । दुई दिनसम्म चल्ने यो कार्यक्रमलाई ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ भनेर नाम दिइएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्नुभयो । संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता रहेको छ ।
कार्यक्रममा बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरी, भुटानका कृषि तथा पशुपक्षी मन्त्री ल्योन्पो योन्टेनसहित २५ देशका प्रतिनिधिहरु सहभागी भएका छन् । उद्घाटनपछि विभिन्न सत्रमा विज्ञहरुको प्रस्तुति र सहभागीहरुबीच छलफल हुनेछ ।