अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

चलचित्र पत्रकार संघ, कोशीले गर्‍यो ३ चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

बिआरटीनेपाल २०८१ जेठ ८ गते ९:५३ मा प्रकाशित

इटहरी/ चलचित्र पत्रकार संघ नेपालको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश शाखाले पनि भव्य कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । प्रदेश शाखाले ज्येष्ठ ७ गते धरानमा अवस्थित सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा वार्षिकोत्सवको केक काट्दै ३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोशी प्रदेश सभा सदस्य माननीय विजय कुमार राईको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका अध्यक्ष सुमित्रा राई (सन्जु)को सभापतित्वमा आयोजना भएको कार्यक्रम मार्फत ‘चलचित्र पत्रकारिता पुरस्कार-२०८१’ बाट लामो समय देखी कोशी प्रदेशमै रहेर चलचित्र पत्रकारितालाई मुख्य बिट बनाएर कलम चलाइरहेका भीषण राई र गोपाल दाहाललाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय राईद्वारा दुवै जना सम्मानित चलचित्र पत्रकारलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै नयाँलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्य सहित ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार-२०८१’ बाट कोशी प्रदेशमा विगत ६ वर्ष देखी चलचित्र पत्रकारिता गरिरहेका सुमित कार्कीलाई ५०२५ रुपैयाँ नगद सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । उनलाई पनि प्रमुख अतिथि माननीय राईद्वारा दोसल्ला ओढाएर प्रोत्साहन पत्र सहित नगद राशि प्रदान गरिएको छ । आगामी वर्षहरूमा समेत यी पुरस्कारलाई अझै बृहत् बनाउँदै निरन्तरता दिने संस्थाका अध्यक्ष सुमित्राले बत्ताइन् ।

संघको २५ औँ वार्षिकोत्सव भएका कारणले उपस्थित प्रमुख अतिथि, सभापति, विशेष अतिथिलगायतले संयुक्त रूपमा केक काटेर वार्षिकोत्सव मनाइएको थियो । कार्यक्रममा विशेष अतिथिको रूपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ, प्रहरी उपरीक्षक भीम दाहाल, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज नरेन्द्र बस्नेत, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश सचिव देवेन्द्र कार्की, धरान उपमहानगर पालिकाका उप-प्रमुख आईन्द्रबिक्रम बेघा, अग्रज पत्रकारहरू हर्ष सुब्बा, महेश श्रेष्ठ, चलचित्र निर्देशक तथा निर्माता सन्तोष सेन, इलाका प्रहरी कार्यालय धरान प्रमुख मानबहादुर राईको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा अतिथिको रूपमा पत्रकार, कलाकार, राजनीतिक जनप्रतिनिधि, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । उपस्थित विशेष अतिथि तथा प्रमुख अतिथिले वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशका सचिव सुवास श्रेष्ठ संकल्पले सञ्चालन गरेका थिए । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश स्थापनाको ८ वर्ष पूरा भैसकेपनी केन्द्रबाट आधिकारिकता नपाउँदा यसअघिका वर्षहरूमा सुस्त थियो । पछिल्लो समय करिब १ वर्षअघि प्रदेश शाखाको रूपमा केन्द्रले समेटेपछि भने यो संस्थाको सक्रियता बढेर गएको छ । संस्थाले करिब एक महिना अघि विराटनगरमा कोशी प्रदेशका कलाकारहरूको समस्या सुन्ने र समाधानको बाटो खोज्ने जमर्कोसहित बृहत् रूपमा ‘सिने समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया