सत्तारूढ दलहरू र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरूबीच साँझ बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले सहभागी हुनुहुन्थ्यो । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।
उनीहरूबीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि आजै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र सभामुख देवराज घिमिरेसँग पनि छलफल गर्नुभएको थियो । त्यसअघि बिहान मात्रै कांग्रेससँग छलफल भएको थियो । बिहानको छलफलपछि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनुभएको थियो ।