मधेश प्रदेशका चार जिल्लाका सीमानाका तीन दिनका लागि बन्द भएका छन् । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका हुन् । भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
सोमवार भारतको मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गएराति १२ बजेदेखि पर्सि सोमवार राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहनेछन् ।यस्तै मधुवनीमा हुन लागेको चुनावलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा पनि आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द गरिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल्वे सेवा मंलबारदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।