नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताउनुभएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलीबाट सूरु हुने पार्टी केन्द्रिय कमिटी बैठकमा थप छलफल हुने पनि बताउनुभयो । नेकपा एसले मंगलबारबाट ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ । सम्मानित नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउनेभयो ।
नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रश्तुत हुने दस्तावेजहरुको बारेमा छलफल गर्न आयोजना गरिएको पोलिटब्युरो बैठक सोमबार सम्पन्न भएको छ । यसअघि पार्टीको स्थायी कमिटी बैठक बोलाइएको थियो । मंगलबारबाट केन्द्रिय कमिटीको बैठक शुरु हुने र त्यसले ती दस्तावेजहरुलाई अन्तिम रुप दिने नेकपा एसले जनाएको छ ।