कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गर्नुभएको हो । कार्कीको पक्षमा ५७ मत परेको छ । नेपाली कांग्रेसले बैठक बहिष्कार गरेकाले विपक्षमा मत परेनन् । आजको बैठकमा ६२ जना सांसद उपस्थित भएकामा राप्रपाका सांसद तटस्थ बसे ।
मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल विश्वासको मत लिन नहुने भन्दै कांग्रेसले आजको बैठक बहिष्कार गरेको हो । कार्कीविरुद्धको मुद्दामा जेठ ७ गते सर्वोच्चमा पेसी तोकिएको छ ।
हिक्मत कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो । आफू मुख्यमन्त्री छँदाछँदै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेस नेता एवम् निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिनुभएको हो ।