उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताउनुभएको छ । सोमबार प्रनिधिनि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले नुन, चिनी र मलखाँदको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताउनुभएको हो ।मन्त्री भण्डारीले कृतिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गर्न पनि सरकारले योजना बनाउने बताउनुभयो । उहाँले अन्य विभिन्न वस्तुहरुको आपूर्ति गर्दा भन्सारमा असहजतालाई अन्त्य गर्न कुटनीतिक रुपमा सहजीकरण गर्ने पनि बताउनुभयो ।
मन्त्री भण्डारीले आगामी दिनमा चाडपर्वमा चिनीको अभाव हुन नदिन सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले सरकारले खाद्य क्षेत्रमा दिने गरेको अनुदानको परिणामले सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा यस सम्बन्धमा नयाँ नीति तय गर्ने बताउनुभयो ।
बैठकमा बोल्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडकि प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आ.व. २०८०/०८१ मा १६ करोड रुपैयाँ बजेट स्वीकृत भएको भन्दै त्यति रकमले नुनको ढुवानी गर्न समस्या भएको बताउनुभयो । उहाँले विगतमै १८ करोड ५० लाख रुपैयाँसम्म छुट्याइने गरेकोमा अहिले भने घटाइएको भन्दै यसतर्फ समितिको ध्यानाकर्षण गराउनुभयो । उहाँले ११ महिनासम्मका लागि नुनको मौज्दात रहने गरेको पनि बताउनुभयो । उहाँले ८ वर्षदेखि नुनको मूल्य समायोजन हुन नसकेका कारण कर्पोरेशनलाई ठूलो आर्थिक व्ययभार परिरहेको भन्दै नुनको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले नेपाल सरकारले अनुदान रहने रासायनिक मलको आयातमा ५ प्रतिशत भुक्तानी करको व्यवस्थाले गर्दा आपूर्तिकर्तासँग हिसाव मिलानमा कठिनाई तथा विवाद आउने गरेको बताउनुभयो ।