अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल

सरिता भारती २०८१ वैशाख ३० गते १६:५१ मा प्रकाशित

काठमाडौँ, शुक्रवारबाट काठमाडौँमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औँ वार्षिक साधारण सभा तथा छैटौँ केन्द्रीय महाधिवेशन शनिवार राती प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको छ । अधिवेशनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले काठमाडौँको राष्ट्रिय सभागृहमा उद्घाटन गरेका थिए । मुलुकका २० हजारभन्दा बढी कलाकारहरू समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाबाट कलाकारहरू काठमाडौँ आई सहभागी भएका छन् ।

संघको शनिवार राती सम्पन्न अधिवेशनबाट अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित भएका छन् । कटवालको अध्यक्षतामा संघका नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती चयन भएका छन् । यस्तै उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मान बहादुर तामाङ र रवीन्द्र रिमाल, सचिवमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रूपक परियार निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् ।
यसै गरी संघको केन्द्रीय सदस्यहरूमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदीप रोक्का,अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बि.सी., ढक बहादुर खत्री, उमेश सिवाकोटी, दिल बहादुर भण्डारी (दिनेश), यज्ञ कुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ, निरुता खत्री, प्रतिमा अर्याल र सुजता केसी निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिमा उपमहासचिव, सचिव, सहसचिव र महिला सदस्यमा मतदान भयो भने बाँकी अन्य पद निर्विरोध निर्वाचित भए । निर्वाचित पदाधिकारीहरुलाइ निर्वाचन समितिले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएको छ ।

पद तथा गोपनीयताको शपथ लिएसँगै नव निर्वाचित अध्यक्ष प्रकाश कटवालले संस्थामा सबैलाई मिलाएर अगाडी बढाइने बताए,‘कलाकारको हक हितमा नयाँ योजना, यस संघको आफ्नो भवन निर्माण, कलाकार कल्याणकारी कोष स्थापना र संगीत विकाश बोर्ड स्थापनमा मेरो विशेष प्राथमिकता रहन छ ।’ उनले भने ।

स्रष्टा सम्मानसहित उद्घाटन समारोह सम्पन्न
यस अघि संघको उद्घाटन समारोह तथा १८ औँ वार्षिक साधारण सभा कार्यवाहक अध्यक्ष प्रकाश कटवालको सभापतित्वमा शुक्रवार दिउँसो राष्ट्रिय सभागृहमा सम्पन्न भएको थियो ।

सो उद्घाटन समारोहमा प्रमुख अतिथि वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा सहित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एवम् संघका सल्लाहकार रामजी बगाले, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापामगर, सोही प्रतिष्ठानका पूर्व अध्यक्षहरू बद्री पङ्गेनी, चन्द्र शर्मा, उपाध्यक्ष राधिका हमाल,राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, लोक सञ्चारकर्मी संघका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायतका अतिथि थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार रामजी बगाले, राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, ग्रीनसिटि अस्पतालका अध्यक्ष एलबि डन्ड, साझा सवाल मिडियाका सम्पादक अनिल अधिकारी, न्युजलाइन्स मिडियाका पत्रकार राजु भट्टसहित यस संघका विशेष सहयोगीहरूलाई सम्मानित गरिएको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपाली गीतसंगीत तथा कलाको क्षेत्रमा राष्ट्रिय संगीतकर्मी संघका तर्फबाट कलाकाहरुले निकै ठुलो योगदान पुर्‍याएको बताए । कलाकारहरूको एकता र हकहितका लागि यो संस्थाले गरेको काम प्रशंसनीय भएको बास्कोटाले बताए ।

सो समारोहमा राष्ट्रिय संगीतकर्मी संघका महासचिव अमृत खातीले कार्यक्रमबारे प्रकाश पार्दै यो संघमा गायक गायिका, नृत्यकार, मोडल, चलचित्रकर्मी जस्ता विविध पेशाका कलाहरू आबद्ध रहेको बताए । आफू महासचिव हुँदाको अवस्थामा संघमा उल्लेख्य प्रगतिको कार्य भएको बताउँदै महासचिव खातिले सोबारे प्रकाश पारे ।

कार्यक्रमका विशिष्ट अतिथि, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक एवम् संघका सल्लाहकार रामजी बगालेले संघको १८ औँ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले यो अधिवेशनले कलाकारहरू जुटेर अघि बढ्न सक्छन् भन्ने सन्देश दिने विश्वास व्यक्त गरिन् । संघको अधिवेशनको शुभकामना दिँदै उनले आउँदा कार्यसमिति निकै राम्रो बन्ने जनाउँदै प्रतिष्ठान र सङ्घ एउटै आमाको दुई सन्तान भएको बताइन ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरू बद्री पङ्गेनी र चन्द्र शर्माले पनि संघको १८ औँ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे ।

संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले आफू सधैँ कलाकारहरूको हकहित र एकताको पक्षमा रहेको बताए । हरेक जिल्लामा पुगेर अधिवेशन गर्दै आफूले त्यहाँका कलाकारको समस्या बुझेकाले ती समस्या समाधानको लागि क्रियाशील रहेको जनाए । अहिले बजारमा संघबारे विभिन्न गुटबन्दी चलिरहे पनि आफू एकताको पक्षमा रहेको कार्यवाहक अध्यक्ष कटवालले बताए । यो अधिवेशनब्स्स अध्यक्षको दावेदारी प्रस्तुत गरेका कटवालले आफू संघमा रहेर कलाकारहरूको सेवामा निरन्तर लागि पर्ने बताए ।

उद्घाटन समारोहका शुभारम्भमा नौमती बाजाले अतिथिहरूलाई स्वागत गरिएको थियो । देउडा नृत्य, झाँकी नाच, हुड्केली नृत्यसहित विभिन्न नृत्यले कार्यक्रमलाई निकै आकर्षक तुल्याएको थियो ।