अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

के छ रश्मी भट्टको शून्यबाट सुरु कथा सङ्ग्रह भित्र ?

गङ्गाप्रसाद भेटवाल २०८१ वैशाख २८ गते १०:२३ मा प्रकाशित

अमेरिकामा बस्ने नेपालीहरूका कथा व्यथा धेरै डरलाग्दा, दुःखदायी पनि हामीले सुन्ने गरेका छाँैं । अमेरिकनहरू नेपालीहरूका दुःख, वेदना, पीडाहरूका कथाहरूलाई समेटेर रश्मी भट्टले शून्यबाट सुरु शीर्षकको कथा संग्रह बजारमा ल्याएकी छन् । ती कथाहरूमा विषयवस्तु के कस्ता छन् त संक्षेपमा यहाँहरु समक्ष प्रस्तुत गर्दछु । हुन त अमेरिकामा बस्ने नेपालीहरुलाई समय व्यतीत गर्नुपर्यो भने जाने ठाउँ पनि कम हुन्छ र हेर्ने विषयहरु पनि कम हुन्छ । यस्तो अवस्थामा यो कथा संग्रह यहाँहरूको सहयोगी बन्न सक्नेछ । नेपाली साहित्यका विविध खुराकहरू यहाँहरूले गङ्गा भेटवाल युट्युब च्यानलमा पनि हेर्न सुन्न सक्नुहुनेछ । युट्युब च्यानल पनि भिजिट गरी सब्सक्राइव गर्नुहोला । अहिले भने अमेरिकामा बस्नुहुने रश्मी भट्टद्वारा लिखित शून्यबाट सुरु (जहाँ १९ वटा कथाहरू समेटिएका छन्) कथा संग्रहको सारसंक्षेप यहाँहरु समक्ष प्रस्तुत छ ।

कथा १ – अनुत्पादक
यस कथामा विज्ञान र वैभव दुई पात्रहरू आएका छन् । यहाँ दुई पात्रको माध्यमबाट मनको शान्ति र बाहिरको सुख शान्तिको बीचमा तुलना गरिएको छ । वैभव बाल्यकालदेखि नै कवितामा रुचि राख्छ । विज्ञान भने कवितालाई उपेक्षा गर्दै धेरै पढेर डाक्टर बन्छ । वैभव नेपाली पढाउने शिक्षक बन्छ । विज्ञान हर हमेशा व्यस्त रहन्छ। श्रीमतीबाट ज्यादै पीडित बन्छ । डिप्रेसनमा पुग्छ उता वैभवको जिन्दगी सदाबहार आनन्दले चल्छ । डिप्रेसनबाट बाहिर आउन कविताकै सहारा लिन पुग्छ, विज्ञान पनि । अन्तिममा ऊ पनि कवि बनेर निक्लन्छ । मनको शान्ति नै बाहिरी दुनियाको शान्तिभन्दा ठूलो कुरा हो भन्ने निष्कर्ष कथाले व्यक्त गरेको छ ।

कथा २ – द्वन्द
पात्रहरू – सुप्रिया र विनोद । उनीहरु लोग्ने स्वास्नी हुन् । विनोदले श्रीमतीलाई भन्दा भौतिक सामानहरुलाई महत्व दिएको देखिन्छ यस्तो अवस्थामा ती दुईको बीचमा प्राय वादविवाद भइरहन्छ । उनीहरूको सम्बन्ध विच्छेद हुने तहसम्म पुगिसके पनि परिवारलाई ध्वस्त हुन दिनु हुँदैन भनेर अन्तिममा मिलन बिन्दुमा दुवै पुगेर कथा टुङ्गिएको छ ।

कथा ३ –एकाकार
म पात्रका माध्यमबाट आफ्नो परिवारको गरिबीपन, बाबु मरेका,े भाइ हराएको अनि अध्यारो कोठामा बस्नु परेको परिस्थिति कथामा छ । कोठाको बाहिर बादल लागेको मौसम, धुम्म परेको, पानी पर्न नसकेको वातावरण छ । कथाको अन्त्यमा पानी परेर मौसम सफ्फा भएपछि सारा धर्ती उज्यालो भएको छ अनि त्यही मौसममा म पात्रले आफूलाई पनि उमङ्गमा ढालेको छ । मौसम खुलेसँगै आफूमा फुर्तिपन आएको कुरा कथामा व्यक्त भएको छ । जहाँ परिवेश आनन्दको हुन्छ व्यक्ति पनि त्यसरी नै आनन्दमा एकाकार हुन्छ भन्ने आशय कथामा व्यक्त भएको छ ।

कथा ४ – साधक र साधना
यस कथामा किसानमाथि भएका अन्याय, कविको विवशता तथा समाजसेवीको मुकुण्डो खोलेको विषय व्यङ्ग्यभावमा आएका छन् । गर्ने भन्ने अनुमान पगरी गुत्ने ढेडु भने जसरी कथानक प्रस्तुत भएको छ । समाजमा हुने गरेका विकृतिहरूको उजागर कथामा छ ।

कथा ५ – पुनरागमन
मुख्य पात्र मञ्जु मञ्जु बिहे गरेर घर आइन् घरमा सबैले उनलाई एकदमै दुःख दिए सासु ससुरा नन्द देवर जेठाजु सबैबाट दुखको पराकाष्ट पाइन्। छोराछोरी सहित उनी माइत हिडिन् । एक्लै भएर बसेकी आमाले मञ्जु र उनका छोराछोरीलाई मायाका साथ स्वागत गरेर सधैंका लागि आफ्नै घरमा राख्छिन् । यो कथाले हाम्रो परम्परित संस्कारमाथि प्रश्न उठाएको छ छोरीलाई अन्याय हुने परम्परामा सच्याउन आग्रह गरेको छ । यो कथामा नारीवादी चिन्तन सशक्त रुपमा प्रस्तुत भएको छ ।

कथा ६ – इच्छाको घर
मुख्य पात्र कुशल आएको छ । कुशल सुरुदेखि नै आफ्नो बुबाआमाले बनाएको घरको अवस्थासँग सन्तुष्ट देखिँदैन। बाआमाले बनाएको घरमा ऊ ऊ सन्तुष्ट नभएपछि उसले आफै घर किन्यो ठगले उसलाई घर किन्ने सिलसिलामा मज्जाले ठग्यो । उसले त्यो घर बस्न मन पराएन र घाटामा भएपनि बेच्यो । त्यसपछि आफ्नै नजिकैको साथीले बालसखाले उसलाई जग्गा किन्न आग्रह गर्यो । जग्गा किन्ने सिलसिलामा त्यसले टन्न नाफा खाएर त्यो जग्गा भिडायो । त्यतिखेरसम्म उसले श्रीमतीको सल्लाह खासै लिँदैन थियो । त्यसपछिका दिनहरूमा व्यावहारिक कुरा गर्ने, अन्तिम निर्णय गर्ने अधिकार श्रीमतीलाई छोडिदियो । श्रीमतीलाई अर्को ठगले ठगिदियो तर उनले त्यो थाहा पाइनन्। आफ्नो इच्छाको घर पाइन्। अन्तिममा परिबन्धमा पारेर त्यो घर कुशललाई फसाएको भन्ने उसले थाहा त पायो। तर श्रीमती छोराछोरीलाई भनेन यस्तो अवस्थामा कथा टुंगिन्छ । जताततै ठगै ठग भेटिन्छन् । जोगिन नसक्नेको जीवन बर्बाद हुन्छ भन्ने सन्देश यो कथाले दिएको छ ।

कथा ७ – शुन्यबाट शुरु
यो कथा नै पुरै कथा संग्रहको शीर्षक बनेर आएको छ । यसमा मुख्य पात्रको रुपमा सुन्तलीलाई उभ्याइएको छ । जीवनको ३८ वर्षमा आफ्नो घर थोरै पैसामा भाडा लगाएर न्युयोर्क पुग्छे र महँगो भाडा तिरेर मुस्किलले बस्न सकिने सानो घर भाडामा पाउँछे । न्युयोर्कमा होटलमा मासु पकाउने, भाँडा माझ्ने, घरमा बच्चा हेर्ने लगायतको काम गर्छे । अर्को कामबाट यो जीवन सहज हुने पो हो कि भनी नयाँ नयाँ काम खोज्दै हिँड्छे हरेक नयाँ काम गर्दा शून्यबाट सुरु गर्नुपर्ने र त्यो गाह्रो हुने महसुस गर्छे । कथाको अन्तिममा उसलाई बोध हुन्छ कि शून्यमा पुग्नु भनेको नयाँ अवसर हो। अनि ऊ खुसी हुन्छे । जीवन शून्यबाट सुरु हुन्छ, शून्यबाटै प्रगति गर्छ र शून्यमै मिल्छ । यसरी कथानक टुङ्गिन्छ ।

कथा ८ – आँसुका दुई कुण्ड
यस कथामा सेप्टेम्बर ११ मा अमेरिकाको ट्रेड टावरमा भएको विवत्स घटना विवरण आएको छ । सम्झनामा नेपालको विगतको हिंसात्मक क्रान्तिको सम्झना छ १७ हजार मानिस मारिएका भाइ हराएको प्रसङ्ग छ । प्रथम पुरुष शैलीमा लेखिएको यस कथामा ती घटनाहरूमा पीडितका आफन्तले बगाएका आँसुका दुई कुण्ड भनेर उल्लेख गरिएको छ ।

कथा ९ – सार्थक
यस कथामा मुख्य पात्र निकोल रहेको छे । निकोल दुई छोराछोरीका आमा हो । रेस्टुरेन्टमा म्यानेजर हुन्छे । अमेरिकी जिन्दगी बहुत व्यस्त हुन्छ । उसले आफूभन्दा कम उमेरको केटासँग अफेर चलाएकी हुन्छे । उसले धोका दिन्छ । जीवन र जगतका बारेमा म पात्रसँग उसको धेरै विचार आदानप्रदान हुन्छ । निकोल मस्त तालले केटा फेरिफेरि जीवनमा आनन्द लुट्न चाहन्छे । म पात्र र उसको संस्कारमा धेरै फरक हुन्छ । अन्तिममा म पात्रको कारण उसको विचार बदलिन्छ । त्यसबेला उसको रहस्य खुल्छ उसले आफूलाई एकदमै मन पराउने लोग्नेलाई धोका दिएर त्यहाँ काम गर्दै आनन्दको संसारमा डुबेकी हुन्छे । छोराछोरीको पनि याद आउँछ । म पात्रको व्यवहारको कारणले लोग्नेको माया सम्झन्छे र उ सँगै जाने विचार बनाउँछे । कथामा निकोलको सोचाइ र व्यवहार बदलिएको माया जागृत भएको प्रसङ्ग छ ।

कथा १० – आहा पैसा π थुक्क पैसा π
यस कथामा अमेरिका पुगेर दुःख गरी पैसा कमाउनुपर्नेहरूको पीडा व्यक्त भएको छ । सुरुमा डलर देख्दा रमाउने तर त्यसका लागि भोग्नु परेका अनगिन्ती पीडाहरुका कारण पैसा केही होइन रहेछ भन्ने सारांश कथामा छ नेपालका धेरै कुराको सम्झना आउने तर अमेरिका छोड्न नसक्ने कथा व्यथा समेटिएको छ पैसासँग मान्छे खुसी पनि छ पैसाकै लागि बाँच्नु पर्दा दिक्क पनि छ भन्ने सन्दर्भ कथाले उठाएको छ ।

कथा ११ – पश्चिमा
पश्चिमा भन्नाले अमेरिकातिरकै मान्छेलाई संकेत गरिएको छ । यस कथामा म पात्र अमेरिकामा एक वृद्ध महिलाको हेर्चा गर्ने काममा लाग्छिन् । त्यस घरमा सात जना हुन्छन्, चार जना बच्चा, श्रीमान श्रीमती, अनि बुढी आमा । यति धेरै बच्चा देख्दा म पात्रलाई अचम्म लाग्छ तर पछि थाहा हुन्छ एउटा ठूलो बच्चा श्रीमान्को, अर्को बच्चा श्रीमतीको, अनि दुई बच्चा ती श्रीमान् श्रीमतीको । ती बुढी आमा श्रीमती चाहिँको आमा हुन्छिन् । पश्चिमाहरु यसरी पनि संयुक्त परिवारमा बसेका हुन्छन् भन्ने दृष्टान्त यस कथामा उल्लेख भएको छ ।

कथा १२ – रोबोट जिन्दगी
यस कथाको मुख्य पात्र निशान्त रहेको छ । यस कथामा अमेरिकामा सर्वसाधारण मानिसहरूको कष्टकर जीवन प्रस्तुत भएको छ । निशान्त १० ११ घण्टा काम गर्ने मान्छे हो हरेक दिन । एक दिन बिहान उठ्न उसलाई ढिलो हुँदा तीन वर्षदेखि गर्दै आएको काम/जागिर गुमाउन पुग्छ। । त्यसपछि फेरि एकपटक स्पेनिस मानिसले चलाएको स्टोरमा काम गर्न पुग्छ । त्यहाँ एक देख्दा सरल तर छट्टु स्पेनिस महिलाको माया जालमा फस्छ। अनि लुटिँदै जान्छ । केटीले गडबड गरेर उसको जागिर पनि जान्छ । उसको अमेरिका बसाई अवैधानिक हुन्छ । त्यहाँ माया प्रेमको स्थान नभएको अनुभूत गर्छ । आफ्नो नेपालको सम्झना उसको दिमागमा आउँछ तर के गर्नु । उसले नेपाली नारीहरुलाई सम्झन्छ, आफ्नी आमालाई सम्झन्छ अनि पछुताउँछ । यस्तै प्रकृतिका घटनाहरू घटिरहन्छन् तर अमेरिकामा बस्नेहरूले निरन्तर रोबट बनेर भएपनि त्यहाँको जीवन चलाइरहनुपर्छ, जीवन चलिरहन्छ र सबैको जीवन चलिरहोस् भनेर उसले कामना पनि गर्छ । अमेरिकामा बस्नेहरुको जिन्दगी मेसिन बराबर छ भन्ने कुराको झलक कथाले दिएको छ ।

कथा १३ – बेखबर
यसमा मुख्य पात्र राकेश रहेको छ । यस कथाको मुख्य पात्र राकेश आमा बाबाको एक्लो सन्तान हो । उसले नेपालमा १२ पढ्दाखेरि नै अमेरिका जाने सपना देख्छ । बाबुआमालाई पढ्नका लागि भनेर खर्चको भारी बोकाएर अमेरिका पुग्छ १८ वर्षको उमेरमा । त्यहाँ बेखर्ची भएर बसेका साथीहरुसँग राकेश बस्न पुग्छ । उसको पैसामा उनीहरू चल्न थाल्छन् । एकदिन राकेशलाई घुमाउन उनीहरुले सामुद्रिक किनारमा÷बीचमा लग्छन् । सबैजना पौडी खेल्न थाल्छन् । राकेशलाई पौडी खेल्न आउँदैन तैपनि उनीहरुले राकेशलाई पौडी खेल्न भन्छन् । त्यही समयमा समुद्रमा तुफान आएकोले राकेशलाई सोहोरेर लग्छ ऊ गायब हुन्छ । उनीहरु मात्र डरले भरिएर रूममा फर्कन्छन् ।, प्रहरीलाई पनि खबर गर्दैनन् राकेशको बारेमा कसैलाई जानकारी दिँदैनन् । उसको मोबाइल पनि उतै समुद्रमा फालिदिन्छन् । यता नेपालबाट बाबाआमाले राकेशलाई जति सम्पर्क गर्ने प्रयत्न गरे पनि हुन्न । फोन लाग्दैन । अन्तिममा राकेशका साथीहरुलाई फोन गर्दा राकेश एक्लै घुम्न गएको तर नफर्किएको बताउँछन् । अमेरिकामा बेपत्ता हुने तथा मर्नेहरुको सूची हेर्छन् । त्यो सूची पनि धेरै लामो हुन्छ तर त्यहाँ राकेशको नाम हुन्न । राकेश कहाँ गयो पुरा बेखबर हुन्छ । यो कथाको माध्यमबाट अमेरिकामा रहने नेपालीहरुलाई एक अर्को प्रति सहयोगी हुन शिक्षा पनि दिएको छ । यो कथाले अमेरिकामा रहने नेपालीहरूको स्थिति देखाएको छ त्यो स्थिति देख्दा सम्पूर्ण पाठकहरुको मन पीडाले छिया छिया बन्न पुग्छ । यो कथा सबै पाठकहरूको मन रुवाउने प्रकृतिको छ ।

कथा १४ – ह्याप्पी हलिडेज
मुख्य पात्र क्रिस्टिना ज्याक्सन हाइड भन्ने स्थानमा बस्छ् । ऊ अमेरिकामा पढाइ गर्न आएकी हो । पढ्न सक्ने वातावरण उसले पाउँदिन । पढाइ छुट्छ । ओभरस्टे भएका कारण नेपाल फर्कन पनि सक्दिन । त्यहाँ अवैध भएर सात वर्ष बस्छे । कमाएको ठूलो रकम ग्रीन कार्ड पाउनका लागि खर्च गर्नुपर्छ । त्यहाँ बिदा नै नपाइने अवस्था हुन्छ । नेपालतिर बस्ने साथीहरुले क्रिसमसको रमाइलो सेयर गरेको देख्दा उसलाई थप पीडा हुन्छ । अमेरिका यस्तो ठाउँ हो जहाँ आम मानिसहरु हर हमेशा बिदै नलिकन काममा घोटिन बाध्य हुन्छन् । यो कथाको माध्यमबाट नेपालीहरुको अमेरिका जाने सपना र अमेरिका पुगेपछिको यथार्थ प्रस्तुत भएको छ ।

कथा १५ – यक्ष प्रश्न
यस कथामा धर्ती र आकाशको कुरा आएको छ। केही दार्शनिकपन प्रस्तुत भएको छ । यो कथा प्रतीकात्मक छ । विभिन्न झगडा तर्क भिन्नता यसमा उल्लेख गरिएको छ । एक किसिमले कथाकारले मनगडन्ते ढंगले कुराहरु पोखेका छिन् । अमेरिकालाई आकाशको रूपमा र नेपाललाई धरतीको रुपमा संकेत गरिएको छ । नेपालीहरूको बसाइ अमेरिकाबाट अब हट्न नसक्ने भन्ने संकेत पनि छ । आकाश र धर्ती सँगसँगै रहन्छ, यो कुरा उल्लेख छ । अमेरिकामा सपना छ आश्वासन छ तर नेपालमा विपना छ यथार्थ छ । नेपालीका लागि यसैगरी नेपाल र अमेरिका दुइटै आवश्यक छ भन्ने कुरा कथामा आएको छ । यी दुवै देशमा नेपालीको आवश्यकता फरक फरक छ तर अवस्था एक हुने समय कसरी आउला यो नै यक्ष प्रश्न बनेर कथाको समापन भएको छ ।

कथा १६ – हट्सनको किनार
यस कथामा म पात्र न्युयोर्कदेखि २ घण्टा जतिको दूरीमा हट्सन नदि किनारमा एक्लै पुग्छिन् । त्यो दिन आनन्दले त्यहाँ बिताउँछिन् । त्यहाँ फलैचामा बसेर हेर्छिन् । त्यसलाई आफ्नै गाउँको बर पिपलको चौतारीसँग दाँच्न पुग्छिन् । त्यहाँ युवा जोडी, वृद्ध जोडी अनि नातिनातिना खेलाउन ल्याएकी महिला भेट्छिन् । अमेरिकनहरु यौनमा खुला मात्र होइन छाडा भएको पनि आँखैले देख्छिन् । हट्सन नदीको किनारमा बसे पनि मन नेपालका नदीहरु चरउँदी, कोशी, गण्डकी, कर्णालीतिर ढुलाउँछिन् । त्यहाँ बसेर नेपाली संस्कार अनि अमेरिकन संस्कारको तुलना गर्छिन् । कथाको अन्त्यतिर आफ्नो चाहना पनि व्यक्त गर्छिन् । यसरी हट्सन नदी एक्ला नेपालीहरूको समय व्यतीत गर्ने स्थानका रुपमा चित्रित गर्न पुग्छिन् ।

कथा १७ – अन्वेषण
यस कथामा जीवनको मध्य अवस्थामा पुगेकी एक महिलाको कहानी प्रस्तुत भएको छ । म पात्रले तिनलाई अमेरिकामा नै पार्कमा भेट्छिन् । ती उदास खिन्न चेरा लिएर बसेकी हुन्छिन् । उनकी आमा जो ६५ वर्षकी थिइन्, पार्कमा मज्जाले छम छम नाचिरहेकी हुन्छिन् । म पात्रले ती उदास महिलाको कथा खोतल्दछिन् । तिनी पढाइको सिलसिलामा अमेरिका पुगेकी हुन्छिन् । उनले त्यहाँ ग्रिनकार्ड भएको नेपाली केटासँग विवाह गरेको र एक छोरी अनि एक छोरा भएको बताउँछिन् । त्यसपछि लोग्नेले डिभोर्स दिएको हुन्छ । अझै आधा उमेर बाँच्ने अवस्थामा लोग्नेले धोका दिएको र जीवन नै उदास भएको बताउँछिन् । यस प्रकारको जीवन भोग्नेहरू अमेरिकामा नेपालीहरू असंख्य रहेको कथामा उल्लेख छ । आमाले भने त्यो पीडा भोग्नु परेन किनकि आमालाई यी कुराको महसुस पनि भएको थिएन । केही समय अगाडि भाइले बेलायत पनि घुमाएर ल्याएको थियो । महिलाको कथा, बाँच्न चाहने जिन्दगीको कथा साह्रै पीडादायी, मर्मस्पर्शी कथा यहाँ उल्लेख भएको छ ।

कथा १८ – हाम्रो सँंस्कार
यस कथामा मुख्य पात्रको रुपमा चमसुरी रहेकी छिन् । चमसुरी बुढीका तीन सन्तान दुई छोरा एक छोरी छन् । बुढेसकालमा श्रीमान बितेपछि उनी कान्छो छोरासँग ६ वर्ष बसिन् र एकदिन जेठो छोरालाई उनले भनिन् – म कान्छासँग धेरै वर्ष बसे अब तँसँग बस्छु । तेरो सम्पत्ति पनि धेरै छ कान्छाको छैन मेरो सम्पत्ति कान्छालाई दिन्छु जेठोले इन्कार गर्यो । तपाईँ जोसँग बसेपनि सम्पत्ति मेरो हुनुपर्छ भन्यो । आमालाई आफूसँग लिएर गयो । केही दिनपछि नै दुर्व्यवहार गर्न थाल्यो त्यो परिवारले । आमा बस्न सकिनन् । कान्छोकोमा फर्केर आइन् । जाने बेलामा जेठाले सम्पत्ति उसको नाममा नामसारी गरिदिन भन्यो । आमाले कान्छालाई त्यो कुरा सुनाइन् । कान्छाले सम्पत्ति जेठोलाई दिएर आमालाई बाँचिन्जेल स्याहार गर्यो । आमाको अन्तिम इच्छा आफू मरेपछि दागबत्ती दिने लगायतका कार्य गर्न कान्छोलाई दिने थियो । तर गहना पाउने लोभमा त्यो इच्छा जेठोले पुरा हुन दिएन । जेठोले अहंकार सहित त्यो इच्छाको हरण गर्यो । यो देखेपछि पुरोहित समेत समयानुकूल हाम्रो संस्कारमा परिवर्तन गरिनुपर्छ भन्ने निष्कर्षमा पुगे । संस्कार परम्परा रीतिरिवाजलाई देशकाल परिस्थिति अनुसार हुन दिनुपर्छ भन्ने कथाको आशय रहेको देखिन्छ ।

कथा १९ – अव्यक्त पीडा
यस कथामा मुख्य पात्रको रुपमा सहदेव रहेको छ । सहदेव १८ वर्षको हुँदा अमेरिका पुग्छ । अमेरिका भनेको दुखको सागर हो । सहदेवले पनि २० वर्ष अमेरिका बसेर आफूभन्दा जेठी स्पेनिस दुई सन्तानकी आमासँग विवाह गर्छ ग्रिन कार्ड लिन । अमेरिकाको नेपालीहरूको बसाइको झलक यहाँ देखिन्छ । २० वर्षपछि ऊ नेपाल आउँदा आमाबा बुढाबुढी भएको, दाइभाइ आमाबा अलग भएको पाउँछ । दाइभाइबाट उसले नराम्रो व्यवहार पाउँछ । नेपाल बस्नेहरुले सोच्छन् कि अमेरिका बस्नेहरुले डलर टन्न कमाएका हुन्छन् सुखै सुख हुन्छ तर वास्तविकता कसैले बुझ्दैनन् । पीडा कसैले बुझ्दैनन् । अव्यक्त ढंगबाट अमेरिकामा बस्ने नेपालीहरूको पीडा प्रस्तुत भएको छ । अन्तिम समयमा समयको दास बनेर सहदेव फेरि अमेरिका फर्कन्छ । जाने बेलामा आमा बाको मज्जाले आशीर्वाद पाउँछ । नेपाल फर्किने कुरा गरेर ऊ जान्छ । समयले कस्तो बनाउँछ त्यो त भन्न सकिँदैन । यो कथा नेपालीहरुको अवस्था प्रस्तुत गर्न सफल भएको कथा हो । सहदेव जस्तै बाँचेका हजारौं हजार नेपाली युवा युवतीहरु मनभरि नेपाल बोकेर अमेरिकामा दिनभरि गोरु जस्तै ज्योतिई रहेका हुन्छन् भन्ने दृष्टान्त कथाले प्रस्तुत गरेको छ ।

अन्तिममा रश्मी भट्टलाई बधाई भन्न चाहन्छु । आगामी साहित्यिक यात्राको सफलताको शुभकामना पनि दिन चाहन्छु । शून्यबाट अमेरिकामा जीवन सुरु गर्ने सम्पूर्ण नेपालीहरुलाई करोडौं करोडको सफलता– अर्बौं अर्बौंको सफलता मिलोस् भन्ने सफलताको कामना पनि गर्दछु । सुन्यबाट सुरु भएको कथा संग्रहले अमेरिकामा वर्तमानमा जीवन भोगिरहेका तमाम नेपालीहरुको जीवनचर्यामा केही सहायता दिन सकोस् । पीडामा मलम लगाउन सकोस् र अमेरिका जादै गर्नेहरुलाई त्यहाँको अवस्थाको बारेमा अग्रिम बोध हुन सकोस् । सम्पूर्णलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना । 

प्रतिक्रिया