पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ । दैनिक हजारौं यात्रु आउजाउ हुने पर्यटन राजधानी पोखराको उडान आजबाट सुचारु भएको हो । एक सातादेखि न्यून ‘भिजिबिलिटी’ का कारण उडान प्रभावित थियो । पोखरामा २५ अप्रिलबाट उडान प्रभावित थिए । यस विमानस्थलमा बुद्ध एयरले मात्र काठमाडौंबाट दैनिक १७ उडान राखेको छ । यहाँबाट नेपालगञ्ज, भैरहवा तथा भरतपुरमा समेत सिधा उडान हुन्छ ।
२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुद्धले ७ उडान भरेको थियो । अप्रिल २६ र २७ मा एउटा पनि उडान भएन । २८ दिउँसो साढे १ बजेदेखि मौसम सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरि २९ र ३० मा पनि एउटै उडान भएन । मे १ दिउँसो १ देखि मौसम सुधार भएपछि ५ उडान भएको थियो । उडान नहुँदा नेपाली साथै विदेशीलाई निकै सकस परेको थियो । आजदेखि उडान सुचारु हुँदा पोखराको चहलपहल पुनः बढ्ने बुद्ध बजार निर्देशक रुपेश जोशी बताउनुहुन्छ ।
उहाँका अनुसार यात्रुको रिसेड्युल वा रिफन्डको कामसमेत भइरहेको छ । मौसमका कारण उडान हुन नसकेका यात्रुले पुनः उडान गर्न चाहे अर्को दिनको टिकट दिने गरिन्छ । नजाने यात्रुको टिकटको रकम फिर्ता गरिन्छ ।